
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्च कटौती गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गरेका छन्।
बुधवार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका हुन्।
उनले राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरू सबैले अत्यावश्यकबाहेक खर्च कटौती गर्नुपर्ने बताए।
सरकार खर्चमा मितव्ययी हुनुपर्ने उनको भनाइ थियो।
थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजीगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए। यसो गर्न सके देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए।
उनले भने, 'राष्ट्रपतिले भन्न सक्नुपर्छ, मलाई अहिले १२ जना, १५ जना सल्लाहकार राख्ने कानूनले सुविधा दिएको छ । तर म ५ जना मात्रै राख्छु । म ३ जना मात्र राख्छु । हेर्दा सामान्य कुरा देखिन्छ । अहिले हामी अफ्ठ्यारो अवस्थामा छौँ । जब राष्ट्रपति, प्रधानमन्त्रीदेखि तलसम्म सबैले भन्न थाल्छ कि हामी अफ्ठ्यारो बेलामा भएको हुनाले गर्दा हामी अत्यावश्यकबाहेक खर्चलाई कटौती गर्दैछौँ । मितव्ययी हुँदैछौँ ।'
उनले देशको आर्थिक संकट समाधान गर्न प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग पनि सम्वाद गर्नुपर्ने बताए।
स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उनले एमालेसँगको संवाद र सहकार्य आवश्यक रहेको बताए। त्यस्तै सरकार र नेपाल राष्ट्र बैंकबीच पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उनले बताए।
महामन्त्री थापाले राष्ट्र बैंक र सरकारको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्ने बताए।