
व्यापारीहरूले पार्किङ निषेधको विरोध गरेपछि महानगरपालिकाले व्यापारीहरूलाई तह लगाउन नयाँ रणनीति अपनाएको छ ।
२ महिना अगाडि विराटनगर महानगरपालिकाले व्यस्त रहने भित्री सडकमा नो पार्किङको निर्णय गरेको थियो ।
पार्किङका लागि वैकल्पिक व्यवस्था गरेर मुख्य बजारमा नो पार्किङ महानगरपालिकाले लागु गरेको थियो । तर व्यापारीले आफ्नो व्यापार घटेको भन्दै सडकमा नै पार्किङ गर्न पाउनुपर्ने माग गर्दै विरोध गर्दै आइरहेका छन् ।
पार्किङ निषेधको निर्णयको अवज्ञा गर्दै मोटर साइकल निषेधित क्षेत्रमा नै रोक्ने गरेका छन् ।
व्यापारीले महानगरको निर्णयविरुद्ध जान थालेपछि विराटनगर महानगरपालिकाले बुधवारदेखि नयाँ रणनीति अपनाएको छ ।
पसलमा राखिएका कामदारको पारिश्रमिक हेर्न थालेको छ । श्रम ऐन अनुसार कामदारको पारिश्रमिक छ छैन भनेर हेर्न थालिएको अनुगमन समितिका एक सदस्यले बताए ।
बजरंग ज्वेलर्सको अनुगमन गर्दा कालिगड तथा कामदारहरूलाई श्रम ऐनविपरीत हुने गरी पारिश्रमिक दिएको पाइएको ती सदस्यले बताए ।
आफ्नो पारिश्रमिकका विषयमा कामदारसमेत अनभिज्ञ रहेको र कामदारहरूको सामाजिक सुरक्षा कोषमा समेत सामेल नगराएको पाइएको महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेलले जानकारी दिए।
महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बुधवार संयुक्त बजार अनुगमन भएको थियो।
अनुगमन गर्न थालेपछि व्यापारीले पसल बन्द गरेर हिँडेका थिए । व्यापारीहरूले पार्किङको कारण देखाउँदै पसल बन्द गरेका थिए ।