१९ असार २०८३, शुक्रबार

मोफसलमा बढ्दैछ चलचित्र गतिविधि

मोफसलमा बढ्दैछ चलचित्र गतिविधि
प्रतिकात्मक तस्वीर

चलचित्रको गतिविधि प्रायः काठमाडौं उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनको लागि मोफसलका केही शहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् । 

प्रिमियर, घोषणा लगायतका कार्यक्रम काठमाडौं केन्द्रित भइरहँदा शुक्रवारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर कास्कीको पोखरा हुने भएको छ । मोफसलका विभिन्न शहरमा व्यावसायिक रूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारकै लागि गर्ने यस्ता गतिविधि निकै कम छन् ।

निर्माता श्रीधर पौडेलले कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल र लेखक तथा निर्देशक प्रमोद कँडेलको सहभागितामा प्रिमियर हुने जानकारी दिए । ‘मोफसलमा समेत प्रिमियर गर्नुपर्छ भन्ने सोचले आयोजना गरेका हौं । उपत्यका बाहिर फाट्टफुट्ट हुने यस्ता कार्यक्रम निरन्तर हुन जरुरी छ,’ निर्माता पौडेलले भने । चलचित्रको प्रिमियर काठमाडौंमा बुधवार साँझ सम्पन्न भइसकेको छ । 

पहिलो दर्शक बनेका कलाकर्मी, राजनीतिज्ञ र सञ्चारकर्मीमार्फत सकारात्मक प्रतिक्रिया पाइएको निर्देशक कँडेलले बताए । ‘हामीले निरन्तररूपमा बनिरहेका चलचित्रमा यसलाई फरकरूपमा तयार गरेको प्रयासले सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित छु । यसमा हामीले अहिलेको पुस्ताको मनोविज्ञान, समाज र परिवारबाट राख्ने अपेक्षालाई प्रस्तुत गरेका छौं,’ निर्देशक कँडेलले भने ।

निर्माता पौडेलकै अग्रसरतामा केही वर्ष अगाडि ‘लुकामारी’को प्रिमियर पोखरामा भएको थियो । 

गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’को काठमाडौंसँगै चितवन र इटहरीमा प्रिमियर गरिएको थियो । निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलमा बढ्दो बजारलाई टेवा पुर्‍याउने उद्देश्यले प्रिमियर गरिएको बताए । ‘हामीले मोफसलमा व्यापार भएन भन्छौं । अझैं कोशी र मधेश प्रदेशको धेरै शहरमा हाम्रो बजार राम्रो छैन । त्यहाँ बजार विस्तार गर्न पनि प्रिमियर गरेका थियौं,’ निर्माता बानियाँले भने, ‘प्रिमियर, पत्रकार सम्मेलन लगायतका गतिविधिले स्थानीय रूपमा प्रचारप्रसार हुन्छ । चलचित्रले मोफसलबाटै झण्डै लगानी उठाएको थियो ।’

उनी आफ्नो आगामी चलचित्र ‘महाजात्रा’लाई काठमाडौं मात्र नभई मोफसल केन्द्रित गतिविधिमार्फत प्रचारप्रसार गर्ने योजनामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्