
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन– २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी कायम रहने भएको छ । उम्मेदवारीविरुद्ध परेका उजुरी सम्बन्धमा छानबिनपछि निर्वाचन अधिकृतको कार्यालय चितवनले उम्मेदवारी कायमै रहने निर्णय बुधवार गरेको हो ।
यसैगरी सर्वोच्चले लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै बुधवार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
राहदानी दुरुपयोग सम्बन्धमा मुद्दा नचलाउने भनेर महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर गरी अनुसन्धान र कारवाही हुनुपर्ने मागसहित युवराज सफलले दिएको रिटमा प्रारम्भिक सुनुवाइपछि उक्त आदेश जारी भएको हो । यससँगै चुनावी अभियानमा होमिएका लामिछानेलाई राहत मिलेको छ ।
००००
यसैबीच लामिछानेले ३० वर्ष सत्तामा बसेकाहरूलाई जनताले प्रश्न सोध्नुपर्ने बताएका छन् । नागरिकता र पासपोर्टको मुद्दा उचालेर आफूलाई विवादमा पार्न कोशिश भइरहेको उनको गुनासो छ । बुधवार चितवनमा आयोजित कोणसभालाई सम्वोधन गर्दै लामिछानेले नागरिकता र पासपोर्टको मुद्दा लड्नु परे पनि जनजीवीकाको मुद्दा उठाउन नछाड्ने बताए ।
००००
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने अधिकतम खर्चको हद तोकेको छ। आयोगको बैठकले उपनिर्वाचन प्रयोजनका लागि मिति २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिएबमोजिम नै हुने जनाएको छ।
जसअनुसार चितवन क्षेत्र नम्बर २ तथा बारा क्षेत्र नम्बर २ का लागि २९ लाख रुपैयाँ र तनहुँ १ का लागि ३१ लाख रुपैयाँ खर्च निर्धारण गरेको छ ।
००००
बलात्कार आरोपमा जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । आफ्नै श्रीमतीलाई बलात्कार गरेको जाहेरीसम्बन्धमा अनुसन्धानका लागि उनै कार्यरत जिल्ला अदालत कपिलवस्तुले पक्राउका लागि अनुमति दिएको हो ।
००००
नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ । चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या गराउन सक्ने बताए ।
००००
काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले आर्थिक क्षेत्रमा रु एक खर्ब १६ अर्ब बराबरको क्षति हुने गरेको काठमाडौँ महानगरपालिकाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।
००००
कोशी प्रदेश सरकारले कार्य कुशलता र कार्य सम्पादनका लागि कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले दिलकुमार मेम्याङबो संयोजकत्वमा कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले दुर्गा चापागाईको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति बनाउने समेत निर्णय गरेको छ ।
००००
नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ ।
००००
जनमत पार्टीका उपाध्यक्ष तथा निवर्तमान खानेपानी मन्त्री अब्दुल खान आफ्नो चरित्र हत्या भएको भन्दै साइबर ब्युरो पुगेका छन् । विद्युतीय कारोबारसम्बन्धी कसूरबारे उनले नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दर्ता गराएका हुन् । आफ्नो चरित्र हत्या हुने गरी अश्लील भिडियो सामाजिक सञ्जालमा अहिले केही मानिसहरूले भाइरल गरेकाले उजुरी दिएको खानले बताए ।
००००
नेपाल धितोपत्र बोर्डले खुला बजार प्रणाली अपनाएर दिन खोजेको ४५ शेयर ब्रोकर लाइसेन्ससहित ३ वटा स्टक एक्सचेन्जको अनुमति करीब ६ महिनादेखि रोकिएको छ ।
बोर्डले अनुमतिका लागि आवेदन माग गरेर अगाडि बढाइसकेका ४५ वटा शेयर ब्रोकर, २ वटा कमोडिटी एक्सचेन्ज र एउटा नयाँ धितोपत्र बजार (स्टक एक्सचेन्ज)को अनुमति रोकिएको हो ।
००००
राष्ट्रिय निजामती किताखानाले राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका कर्मचारीलाई वैयक्तिक विवरण अद्यावधिक गराउने सूचना निकालेको छ।
किताबखानाले निजामती सेवा नियमावली, २०५० को नियम १० तथा नियम १० (क) ले सबै सेवा, समूह, श्रेणीका कर्मचारीको अभिलेख राख्ने एवं अद्यावधिक गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।
००००
सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन ५ वर्षसम्म कायम रहने दाबी गरेका छन्।
बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौंमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा नेपालले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए।
००००
सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भनेर गरेको निर्णयमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासले बुधवार सुनुवाइपछि सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
००००
प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्नेलगायत सभा सञ्चालनका लागि सभामुखको अध्यक्षतामा रहने कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यको मोटामोटी टुंगो लागेको छ ।
२१ सदस्सीय परामर्श समितिमा नेपाली कांग्रेसको तर्फबाट ६, एमालेबाट ५, माओवादी केन्द्रबाट २ तथा राष्ट्रिय दलको मान्यताप्राप्त अन्य दलबाट एक एक सांसद रहने भएका छन् ।
००००
सुनचाँदी बजारमा बुधवार सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन मंगलवार प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य बुधवार बढेर १ लाख ११ हजार कायम भएको छ । यो मूल्य हालसम्मकै सर्वाधिक हो । पछिल्लो समय सुनको मूल्यले एक पछि अर्को रेकर्ड कायम गरेको छ ।