०१ असार २०८३, सोमबार

चितवनतर्फ नदी मिचिएको भन्दै नवलपुरमा विरोध

चितवनतर्फ नदी मिचिएको भन्दै नवलपुरमा विरोध

नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा भरतपुर महानगरपालिकाले एकतर्फी रूपमा तटबन्ध गरेको भन्दै गैँडाकोटवासीले विरोध गरेका छन् । ‘गैँडाकोट बचाऊँ अभियान सङ्घर्ष समिति’ ले तटबन्धको काम तत्काल रोक्न भन्दै आज गैँडाकोटको पुलचोकमा विरोध प्रदर्शनसँगै सडक अवरुद्ध गरेको छ । 

समितिले बुधबार नारायणी नदी व्यवस्थापन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि माग सुनुवाइ नभएको भन्दै समितिले आज गैँडाकोटमा विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेको हो । समितिका संयोजक गोकुल सापकोटाले नारायणगढतर्फ गरिएको तटबन्धका कारण आउँदो बर्खायामा गैँडाकोटतर्फ डुबान तथा धनजनको ठूलो क्षति हुनेसक्ने बताए। नारायणगढमा एकतर्फी तटबन्ध बनाउन लागिएकाले त्यसलाई नरोकिए सिङ्गो गैँडाकोटवासीहरू आन्दोलित हुने उनको भनाइ छ । 


भरतपुर महानगरपालिकाले नारायणी नदीलाई ‘सी बिच मोडल’मा विकास गर्ने भन्दै नदी किनारमा हाल झण्डै रु १७ करोडको लागतमा तटबन्धको काम गरिरहेको छ । गैँडाकोट र नारायणगढ जोड्ने पुलको केही माथिपट्टि नारायणी नदीकिनारमा नारायणी नदी व्यवस्थापन कार्यालयले धमाधम तटबन्ध निर्माणको काम गरेको छ । कङ्क्रिटको त्यस्तो संरचनाले नदीको बहावलाई नवलपुरतर्फ फर्काउने र गैँडाकोटमा ठूलो क्षति हुने समितिले जनाएको छ । 

नारायणगढमा निर्माण गरिएको तटबन्धका कारण नारायणीमा आएको बाढीबाट गैँडाकोटको वडा नम्बर २, ५, ६, ७ र ९ नम्बर वडा डुबानमा पर्ने जोखिम छ । गैँडाकोट क्षेत्रमा रहेका सबै राजनीतिक दलका प्रतिनिधि सम्मिलित सङ्घर्ष समितिको बैठकले नारायणगढतर्फको तटबन्ध निर्माण कार्य तत्काल रोकिनुपर्ने र यो बर्खायामपछि बृहत् अध्ययन र छलफलपछि दुवै पक्षको सहमतिमा मात्रै त्यस्तो निर्माण कार्य हुनुपर्नेमा जोड दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्