
गायक एवं अभिनेता प्रकाश सपूतले आउँदो वर्षलाई सिर्जनामा जातीय विभेदविरुद्धको वर्ष बनाउने भएका छन् ।
वर्ष २०८० मा केही सिर्जना जातीय विभेदविरुद्ध आउने उनको भनाई छ । त्यसैले पनि आफ्नो नयाँ गीत ‘सकम्बरी’ २०७९ सालभित्र सार्वजनिक गर्न लागेको उनले बताएका छन् ।
उनको उक्त गीत आइतवार सार्वजनिक हुँदैछ ।
‘अर्को वर्ष २०८० लाई आफ्ना सिर्जनामा जातीय विभेदविरुद्धको वर्ष भनेर गर्ने सोच बनाएको छु । केही सिर्जना जातीय विभेदविरुद्ध आउनेछन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई विश्वास छ, जसरी अघिल्ला सिर्जनामा नजानिँदो गरी देखाइएका सामाजिक विषयहरूलाई गम्भीर रूपमा लिनुभएको छ । यसरी नै आगामी सिर्जनाहरूका विषयलाई साझा मुद्दाको रुपमा लिनुहुनेछ । मनन गर्नुहुनेछ ।’
उनले अगाडि थप लेखेका छन् ‘यद्यपि, चाहे जतिनै निरुत्साहित गरियोस् व्यावसायिक हिसाबले मनोरञ्जन प्रदान गर्ने र जिम्मेवार नागरिकका हिसाबले सामाजिक विषयमा आवाज उठाउने प्रयासमा कमी आउनेछैन ।’