
वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीले पाउनुपर्ने बिमाबापतको रकम मिलाइदिन्छु भनी ठगी गर्ने गिरोहका सदस्यहरू पक्राउ परेका छन् ।
पक्राउ परेका ६ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर १२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर ८ का ३४ वर्षीय विनोद लामा, ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र हरिवन नगरपालिका वडा नम्बर २ का ३९ वर्षीय रुद्रमान गोले छन् ।
चैत २३ गते उनीहरूलाई पक्राउ गरिएको थियो ।
वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीका परिवारले बिमाबापत पाउने रकम दिलाइदिन्छु भन्दै प्राप्त रकमको केही प्रतिशत मात्र आफन्तलाई दिई बाँकी रकम ठगी गर्दै आएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक डा . मनोज केसीका अनुसार पक्राउ परेका ६ जनाको साथबाट विभिन्न व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिश, बिमा कम्पनीको लेटरप्याडसहितका कागजात बरामद गरिएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीय उपेन्द्र यादव साउदी अरबबाट केही समयअघि बिरामी भएपछि नेपाल फर्किएका थिए ।
'नेपालमा उनको मृत्यु भएपछि उनले पाउनुपर्ने बिमाबापत १३ लाख रुपैयाँमध्ये ८ लाख रुपैयाँ उक्त गिरोहले राखेको र ५ लाख रुपैयाँ मात्र मृतककी पत्नीलाई दिएको पाइएको छ, 'केसीले भने, 'उक्त गिरोहले यसरी नै अन्य पीडितहरूलाई पनि ठगी गर्ने गरेको भन्ने जनगुनासो आएपछि हामीले अप्रेसन गरेर प्रमाणसहित पक्राउ गर्न सफल भएका छौं ।'
कुन मानिसको शव आइरहेको छ, कसको शव आएको हो भन्ने कुरा पत्ता लगाउन त्यो गिरोहका सदस्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै पुगेर सूचना प्राप्त गर्ने गर्थे । त्यसपछि बिमाको प्रतिनिधि बनेर चिनजान गरी पीडितको घरसम्मै पुग्ने गरेको पाइएको छ ।
वडा कार्यालयदेखि काठमाडौंसम्म उनीहरूले सहजकर्ताको भूमिका निर्वाह गर्ने गरेका थिए । 'पीडित परिवारलाई काठमाडौंमा ल्याएर होटलमा थुनेर राख्ने, सबै पैसा निकालिदिएपछि केही रकम मात्र दिने र बाँकी सबै आफैंले राख्ने गरेको अहिलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,' एसएसपी केसीले भने, 'कसैलाई केही भन्यो वा बाहिर सूचना दियो भने त्यो रकम पनि नपाउने भनेर धम्क्याउने गरेको पाइएको छ ।'
उनीहरूको साथबाट विभिन्न ३५ ठाउँका व्यक्तिहरूको कागजात फेला परेको छ । त्यसमध्ये कतिपय सक्कली कागजात नै रहेको र स्ट्याम्पहरू समेत बरामद भएको उनले बताए ।
खास गरेर मधेश प्रदेशका पीडितहरूलाई उक्त गिरोहका सदस्यले गिरोहले निशाना बनाएको देखिन्छ ।
फिल्डमा परिचालन गरिएका व्यक्तिहरूलाई काम सम्पन्न भएपश्चात ४० देखि ५० हजार रुपैयाँसम्म दिने गरेको र बाँकी गिरोहका सदस्यबीच बाँड्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।