१४ असार २०८३, आइतबार

सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र चाहिँदैन- मन्त्री मोदी

सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र चाहिँदैन- मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र नचाहिने बताएका छन् । ​

थारू कल्याणकारी सभा जिल्ला समिति उदयपुरको ९ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

कोतपर्व, भण्डारखाल पर्वदेखि दरबार हत्याकाण्डसम्म केवल सत्ता प्राप्तिका लागि भएको भन्दै उनले भने, 'सत्ता जोगाउन वा सत्ता प्राप्त गर्न फेरि नयाँ हत्याकाण्ड मच्चाउन हामीलाई राजतन्त्र चाहिएको छैन ।'

मन्त्री मोदीले दरबार हत्याकाण्डको मुख्य लक्ष्य पनि सत्ता प्राप्ति भएको बताए । जनताका छोराछोरीले आफ्ना प्रतिनिधि छान्न पाउने व्यवस्थामा मुलुक आइपुगिसकेकाले अब फर्किन नसक्ने पनि उनको भनाइ थियो । 

मुलुकलाई प्रतिगमनतिर लैजान खोज्नेहरूले अहिले राजाको पक्षमा वकालत गरिरहेको उनको आरोप थियो। भने, 'केही राजनीतिक दल, पश्चगामी तत्व एकात्मक शासन चाहिन्छ, समानुपातिक समावेशिता हटाउनुपर्छ भनेर हिँडिरहेका छन्, उनीहरूको त्यो सपना अब पूरा हुने छैन ।' 

मन्त्री मोदीले उत्पीडित जातिको अधिकारलाई कुण्ठित गर्न खोज्ने दुश्प्रयासलाई सबैले विफल पार्नुपर्ने समेत बताए । 

लोकतन्त्र नै सबैभन्दा उन्नत व्यवस्था भएको बताउँदै उनले भने, 'वडादेखि केन्द्रसम्मका सबै जनप्रतिनिधि जनताले छान्न पाउने लोकतन्त्र जतिको उन्नत व्यवस्था अरू हुनै सक्दैन ।'


 

salt training

कमेन्ट गर्नुहोस्