
महोत्तरीको जलेश्वर कारागारका एक कैदी आज दिउँसो अस्पतालबाट फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार जलेश्वर कारागारका कैदी जिल्ला कै लोहारपट्टी नगरपालिका–९ खुट्टापिपराढी बस्ने २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य अस्पतालबाट भागेका हुन्।
खुट्टामा समस्या आएर ५ जना कैदीलाई उपचारका लागि जनकपुर लगिएको थियो। कैदी यादव भने अस्पतालको झ्याल तोडेर फरार भएका हुन्।
धनुषाको जनकपुर उपमहानगरपालिका–८ बस्ने अर्जुन साहको हत्या गरेको आरोपमा २०७९ साल भदौ २५ गतेदेखि उनी पूर्पक्षका लागि कारागारमा थिए ।
फरार कैदी यादवको खोजी महोत्तरी र धनुषाका संयुक्त प्रहरी टोलीले व्यापक रूपमा खोजी गरिरहेको छ ।