१२ असार २०८३, शुक्रबार

बागलुङ नगरपालिकाद्वारा खुला व्यायामशाला स्थापना

बागलुङ नगरपालिकाद्वारा खुला व्यायामशाला स्थापना

बागलुङमा खुला व्यायामशाला स्थापना गरिएको छ ।

बागलुङ नगरपालिकाले नागरिकको पहुँचमा पुग्ने गरी खुला व्यायामशाला स्थापना गरेको हो ।

नगरपालिकाको पहलकदमी तथा आयुर्वेद विभागको समन्वयमा संरचना स्थापना गरिएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । झोलुङ्गे पुल रहेको सहिद पार्कमा खुला व्यायामशाला सञ्चालन गरिएको श्रेष्ठले बताए ।

नगरपालिका–१ रामरेखाको सहिद पार्क तथा लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका नागरिकलाई लक्षित गरी संरचना बनाइएको हो । 

‘बिहान र बेलुका हिँडडुल गर्ने नागरिक बढेका छन्, बजारको कोलाहलबाट टाढा रहन बाङ्गेचौर, लामो पुल, सहिद पार्क र मालढुङ्गा क्षेत्रमा पुग्ने गरेका छन्,’ नगर प्रमुख श्रेष्ठले भने, ‘शारीरिक अभ्याससँगैै खुला प्रकृतिको आनन्द लिन सकिने छ ।’

पुल हेर्न आउने र शारीरिक स्फूर्तिका लागि आवातजावत गर्नेलाई सहज भएको स्थानीय राम शर्माले बताए । शहर बजारका नागरिकको खानपान र रहनसहनका कारण अनिवार्य व्यायाम गर्न आवश्यक देखिएकाले गत वर्षदेखि  यस्तो संरचना बनाउने सोच राखिएको थियो । यस वर्ष १५ प्रकारका सामग्री ल्याएर व्यायामशाला स्थापना गरिएको हो । 

धौलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा. सरोजकुमार रायका अनुसार डब्ल्यूएचओको आर्थिक सहयोग तथा आयुर्वेद विभागको समन्वयमा यो संरचना बनाइएको हो । शारीरिक अभ्यास, योग तथा खानपानमा शहर बजारका नागरिक सचेत रहन आवश्यक रहेको बताउँदै डा. रायले खुला व्यायामशाला नागरिकको पहुँचमा पुग्ने भरपर्दो शारीरिक अभ्यासको माध्यम रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्