
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी मुलुकको प्रमुख शक्तिको रूपमा रहेको दाबी गरेका छन् ।
पार्टी निकट अखिल नेपाल महिला संघको शनिवार काठमाडौंमा शुरू भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले एमाले मुलुकमा अरु पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो रहेको बताए । उनले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरू लागे पनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिला संघलाई धन्यवाद पनि दिए ।
पार्टीमा आवद्ध महिलाहरूको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रूपमा रहन सकेको ओलीको भनाइ थियो । उनले भने, ‘अहिले एमाले जुन ठाउँमा छ । मैले धेरै ठाउँ भन्ने गरेको छु – आज पार्टी दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रब्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमालेविरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरू ढाल बनेर महिलाहरूले छेकेका छन् । अनमेसंघ र अरु संगठनहरू सक्रिय छन । त्यसमा पनि अखिल नेपाल महिला संघको र महिला दिदीबहिनीहरूको योगदान यथार्थमा भन्ने हो भने आजको अवस्थामा पार्टी यसरी सुरक्षित भएर, जोगिएर, फेरि एउटा देशका प्रमुख पार्टीको हैसियतमा तुरुन्त जस्ताको तस्तै उभिन, शरीरभर घाउ, निलडाम होलान् तर नेकपा एमाले फेरि पनि जुरुक्क उठेको छ । अरुभन्दा अलि बलियो, अरुभन्दा अघि व्यापक, अरुभन्दा अग्लो त्यस रूपमा एमाले उभिएको छ । यो योगदानका लागि म महिला दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु । यसमा महिलाहरूको निष्ठाले काम गरेको छ ।’
अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्व अध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि दोहोर्याए । त्यस अवसरमा उनले पार्टीभित्र गुटबन्दी नगर्न पनि निर्देशन दिए । एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए । उनले पार्टीभित्र योग्यता, क्षमता र काम गरेर जिम्मेवारी दिइने पनि स्पष्ट पारे ।
ओलीले भने, ‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तो–उस्तो नभन्नुस् । हुन्छ नि स्वार्थका लागि यसो गु्रप बनाएझैं । खेल्न खोजेझैं त्यस्तो खालको नगर्नुहोला । एकछिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं । यसमा तलमाथि हुँदैन ।’
ओलीले अखिल नेपाल महिला संघले पनि ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्ने बताएका छन् ।