१९ असार २०८३, शुक्रबार

सरसर्ती २४ घण्टा : प्रचण्ड–देउवाको प्रस्तावमा ओलीको अस्वीकारदेखि बालेनको आक्रोशसम्म

सरसर्ती २४ घण्टा : प्रचण्ड–देउवाको प्रस्तावमा ओलीको अस्वीकारदेखि बालेनको आक्रोशसम्म

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सङ्क्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई द्रुतमार्ग (फास्ट ट्याक) बाट पारित गर्ने विषयमा शीर्ष नेताबीच विवद भएको छ ।  सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको छलफलमा सहमति जुट्न नसकेको हो ।

 टिआरसीसम्बन्धी विधेयकलाई द्रुतमार्गबाट पारित गर्ने विषयमा देउवा र प्रचण्डबाट आएको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले अस्वीकार गरेका थिए । प्रमुख विपक्षी दलका नेता ओलीले टिआरसीलाई पहिले संसदीय समितिमा लैजानुपर्ने अडान राखेका थिए ।
००००
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्। शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा उनले नेकपा एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको आरोप लगाए। उनले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको पनि आरोप लगाए।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनमत खस्किएपछि देशका प्रमुख दलहरू आफ्नो पार्टीको विरोधमा लागेको आरोप लगाएका छन् ।
आफूहरूले विश्वमा नभएको चुपचाप क्रान्ति गरेको पनि उनले दाबी गरे । तनहुँको आबुखैरनीमा शनिवार रास्वपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाबाट तर्सेका दलका नेताले रास्पवालाई गाली गरिरहेको बताएका हुन् ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उनले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिए ।
००००
नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ ।     
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २(० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरिएको हो ।
००००
तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्यशृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न महासम्मेलनले जोड दिएको छ ।
००००
नेकपा एमालेका नेता भीम रावलले सत्तारुढ गठबन्धन सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि ८ प्रश्न गरेका छन् । शनिवार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले प्रश्न गरेका हुन् । नीति तथा कार्यक्रममा गठबन्धनको संस्कृति विकास गर्ने भनिएकोप्रति उनले सोधेका छन्, ‘के अबदेखि दलले एक्लै चुनाव लडेर बहुमत ल्याउन नहुने हो ?’
००००
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
विमानस्थलको शनिवार अनुगमन गर्दै उनले विमानस्थलको महत्त्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए । गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रमुख प्रतापबाबु तिवारी एवं सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालू गतिविधि र नयाँ योजनाको आवश्यकताबारे जानकारी गराएका थिए ।
००००
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी मुलुकको प्रमुख शक्तिको रूपमा रहेको दाबी गरेका छन् ।
पार्टी निकट अखिल नेपाल महिला संघको शनिवार काठमाडौंमा शुरू भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
००००
ह्याम्स हेस्पिटलको छतमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना भएको छ । भरतपुरमा बिरामी लिन जाने क्रममा हेलिकप्टर मेडिक टीमको लागि हेम्स हस्पिटल पुगेको थियो । 
हेलिकप्टर अवरतरण गर्ने क्रममा पुच्छरले छोएका कारण दुर्घटना भएको हो। दुर्घटनाबाट मानवीय क्षति भने भएन  ।
००००
पूर्णबहादुर खड्काले उपप्रधान तथा रक्षा मन्त्री भएर पहिलोपटक गृहजिल्ला पुग्दा भुइँ ढोगेका छन्।  खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्नेबित्तिकै जमिनलाई ढोगेका हुन्। 
गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री खड्का शनिबार सुर्खेत पुगेका हुन्।
००००
प्रहरीले फुटपाथ अवरुद्ध गरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आक्रोशित भएका छन्। केही तस्वीरहरू राखेर बालेनले आज सामाजिक सञ्जालमा प्रहरीप्रति आक्रोश पोखेका हुन्। 

‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ,’ उनले लेखेका छन्। यसैगरी शाहले नेताहरुलाई पनि कटाक्ष गरेका छन् । शाहले साँच्चिकै देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन्। बालेनले पटक पटक नेताहरुमाथि आक्रोश पोख्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्