
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई फसाउन षड्यन्त्र भएको दाबी गरेका छन् ।
उनले बाहिर आएको फोन संवादको अडियो वास्तविक नभई सम्पादन भएको समेत बताएका छन् ।
संवाद बाहिरिएको केही घण्टाभित्रै रास्वपाले भने उनलाई निलम्बन गर्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
अनुशासन समितिलाई ३ दिनभित्र घटनाका विषयमा प्रतिवेदन पेश गर्न भन्दै श्रेष्ठलाई पार्टीका सबै जिम्मेवारीबाट अलग गरिएको हो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बन्नुभएका सांसद डा. ढाकाकुमार श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ अडियो बाहिरिएको केही घण्टामै पार्टीका तर्फबाट महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख, ‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ । साथै, केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।’
