३० जेठ २०८३, शनिबार

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो र बर्खामा हिलाम्य

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो र बर्खामा हिलाम्य
प्रतिकात्मक तस्वीर

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे २ दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन ।

हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन् । करीब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर–अक्षते क्षेत्रमा भने  धमाधम काम भइरहेको छ ।

माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन । लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक २ खण्डमा विभाजन गरी ठेक्का दिएको छ । २ खण्डमा कालोपत्रका लागि २०७२/७३ मा सम्झौता भएको थियो ।

हालसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ । बिहुँ खण्डको जिम्मा एपी एस सिएफ इसिसी जेवीले र तल्लो खण्डको जिम्मा भरत सिद्धिशाही जेवीले लिएको थियो । बिहुँ खण्डको आगामी असार ५ गते म्याद सकिँदै छ भने अक्षते खण्डको असार मसान्तसम्म छ ।

बिहुँ खण्डमा निर्माण कम्पनीले निकै सुस्त गतिमा काम गर्दा असार मसान्तसम्म नकिनेमा स्थानीयले शंका व्यक्त गरेका छन् । तल्लो खण्डमा तीव्र गतिमा काम भएको हुँदा स्थानीयमा आशा पलाएको छ ।

बागलुङदेखि खहरेसम्म केही महिना अगाडि नै कालोपत्रे भएको थियो भने अहिले खहरेदेखि अक्षतेसम्म तीव्र गतिमा काम भइरहेको छ । यस खण्डमा अहिले सडक चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ । सडक कालोपत्रे हुन लागेपछि स्थानीय हिलो र धुलोबाट मुक्त हुने बताउँछन् । १ हप्तासम्म सडकको धुलो घरभित्रै आउने गरेकोमा अहिले कालोपत्रे गर्न थालेपछि कम भएको बागलुङ नगरपालिका–३ खहरेका स्थानीय जंगबहादुर कार्कीले बताए ।

कार्की भन्छन्, ‘आधा जीवन भारतीय सैनिकमा बिताएँ, आधा जीवन यही सडकमा पानी हाल्दाहाल्दै गयो, अब दिन दिनै उठेर सडकमा पानी लगाउनुपर्ने छैन, यो सडकले धेरैलाई सुविधा दियो तर सडक छेउछाउका क्षेत्रका मान्छेलाई साह्रै दुःख पनि भोग्नुपर्‍यो, करीब २५ वर्ष यो सडकमा पानी हालेरै बित्यो, पूर्वपश्चिमबाट दैनिक दर्जनौं गाडी धुलो उडाउँदै गुड्छन्, पानी नलगाएसम्म घर बाहिर निस्किन सकिँदैनथ्यो, अहिले धेरै सजियो भयो, धुलो पनि कम भएको छ ।’

तल्लो खण्डमा तीव्र गतिमा काम भएपछि माथिल्लो खण्डका स्थानीयले यहाँको कामलाई तीव्रता दिन माग गरी रहेका छन् तर निर्माण कम्पनीले धिमा गतिमा काम गरेको छ । यस खण्डको ठेकेदार समय–समयमा सम्पर्कविहीन हुने गरेको छ । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको १ दशक पुग्नै लाग्यो । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले अटेरी गर्दा अहिलेसम्म सडक कालेपत्रे हुन नसकेको स्थानीय वीरबहादुर विकले बताए । विकले सडकको धुलो र हिलोले गर्दा स्थानीय बसाइँसराइँ गर्न बाध्य भएको बताए ।

सडक छेउका घर हिउँदमा धुलो र बर्खामा हिलोले पुरिने गरेको उनको भनाइ छ ।

‘पहिले सडक आयो, सडयो, सडक आएपछि धेरैले सडक छेउछाउमा घर पनि बनाए तर वर्षौंसम्म सडक कालोपत्रे हुन नसक्दा विस्थापित हुन बाध्य भए, अहिले बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाटोमा पानी हाल्ने काम गर्नुपर्छ,’ उनले भने, ‘ठेकेदारले बेला बेलामा काम गर्लाजस्तो गर्छ, तर झारा टारेजस्तो मात्रै गर्छ, हामीहरू हैरान भयौं, यहाँको समस्या कसैले बुझेन ।’

salt training

कमेन्ट गर्नुहोस्