१६ असार २०८३, मंगलबार

दीपकराजको कटाक्ष– दुईचार कमसल ढाका त छिरिहाल्ने रहेछन् !

दीपकराजको कटाक्ष– दुईचार कमसल ढाका त छिरिहाल्ने रहेछन् !

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँको ‘बार्गेनिङ’ गरेको भनिएको अडियो सार्वजनिक भएपछि यसले​ तरंग पैदा गरेको छ ।

उक्त अडियोलाई लिएर सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेका छन् ।

उक्त अडियो प्रकरणलाई लिएर चर्चित कलाकारहरूले कटाक्ष गरेका छन् ।

अभिनेता दीपकराज गिरीले उक्त अडियोलाई लिएर भएको चर्चाप्रति व्यंग्य गरेका छन् । ‘जतिसुकै राम्रो कपडा पसल खोल्छु भने पनि कपडाका थानमा दुईचार कमसल ढाका त छिरिहाल्ने रहेछन्’ उनले सोमबार बिहान फेसबुकमा लेखेका छन् ।

दीपकराजले आइतबार बेलुका पनि उक्त अडियो प्रकरणलाई लिएर व्यंग्य गरेका थिए ।

‘चोली राम्रो पाल्पाली ढाकाको गीत सुन्दै छु, ढाकामा समस्या हो कि पूरा गीतमा...’ उनले लेखेका छन् । 

हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले पनि उक्त अडियो प्रकरणलाई लिएर कटाक्ष गरेका छन् ।

उनले आफूले अभिनय गरेको चर्चित सिरियल ‘मेरी बास्सै’को क्यारेक्टर तस्वीर फेसबुकमा राख्दै लेखेका छन्, ‘सबैले केही न केही मागेर छाड्छन् । यो दुनियाँ आखिर माग्ने नै रहेछ ।’ उनले तोकेरै अडियो काण्डबारे उल्लेख नगरेपनि समय र सन्दर्भको हिसाबले उनको यो कटाक्ष त्यतैतर्फ भनिएको आँकलन गर्न सकिन्छ । 

सांसद डा. श्रेष्ठले २ करोड मागेको भनिएको अडियो आइतवार सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएलगत्तै रास्वपाले श्रेष्ठलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ ।

अडियोबारे सांसद डा. श्रेष्ठको सचिवालयले त्यस्तो अभिव्यक्ति नदिएको र अडियो सम्पादन गरेर मानमर्दन गर्न खोजिएको जिकिर गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्