
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतवारबाट उठ्न छाडेको सिंहदरबारको फोहोर आज पनि उठ्न सकेको छैन ।
संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रा.लि.का कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।
आइतवार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरूलाई सिसडोलमा डम्पिङ गर्नुपर्ने र आइतवारबाट सिंहदरबारको फोहोर नउठाउने भनेका थिए । उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरूले उनको विरोध गरेका छन् ।
राजनीतिक दलका नेताहरूले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको विरोध गरेका हुन् । आइतवारबाट उठ्न छाडेको सिंहदरबार परिसरको फोहोर सोमवार पनि उठेको छैन । सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहोर पुतली बगैँचामा थुपारिएको छ ।
विज्ञहरूले यसलाई संघ सरकार केन्द्र सरकारबीचको टकराव फोहोरका कारण सिंहदरबारबाट शुरू भएको बताउँदै आएका छन् । महानगरको गैरजिम्मेवारीपनप्रति केन्द्र सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।