११ साउन २०८३, सोमबार
हवाई सुरक्षामा प्रश्न

हेली एभरेस्टको हेलिकप्टर दुर्घटना : ओभरलोडले हिउँमा चिप्लिएको प्रारम्भिक निष्कर्ष

चैत २७, २०७९
हेली एभरेस्टको हेलिकप्टर दुर्घटना : ओभरलोडले हिउँमा चिप्लिएको प्रारम्भिक निष्कर्ष

आइतवार धौलागिरी आधार शिविरमा भएको हेली एभरेस्टको हेलिकप्टर दुर्घटना ‘ओभर लोड’का कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनाको स्थिति र प्रकृति हेर्दा ओभरलोडका कारण भएको हुन सक्ने अनुमान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । 

हेली एभरेस्टको ९ एन एएनबी कल साइन हेलिकप्टर शनिवार काठमाडौंबाट म्याग्दी गएको थियो ।

उक्त हेलिकप्टर म्याग्दीमा नै रात्रि बिसान गरेर धौलागिरी हिमालको तल्लो इटालीयन बेसक्याम्पबाट ११ हजार फिटको बेसक्याम्पसम्म सामान ओसार्ने काम गर्दै थियो ।

हिमालय आरोहीहरू हिँडेर जाने र हेलीले १४ हजार फिटसम्म उनीहरूको सामान पुर्‍याउने काम गरिरहेको थियो ।

क्याप्टेन प्रिया अधिकारीले उडाएको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएको पाइएको छ । हेलिकप्टरमा ओभरटर्न भएर पल्टिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

सामान्य घाइते भएकी पाइलट अधिकारीलाई उद्धार गरी काठमाडौं ल्याएको थियो ।

काठमाडौंको मेडिसिटी अस्पतलामा परीक्षण गरेपछि स्वास्थ्यमा कुनै समस्या नदेखिएकाले उनी आइतवार साँझ नै घर फर्किएकी छन् ।

उक्त हेलिकप्टर ओभरटर्न भएको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक टोलीले अध्ययन थालेको छ । यसका लागि मन्त्रालय र प्राधिकरणले समन्वय गरेर एक अध्ययन टोली धौलागिरी हिमालको आधार शिविरतर्फ गएको छ ।

हेलीमा भएको क्षतिको स्थलगत अध्ययन गर्न प्राधिकरणको टोली धौलागिरी बेसक्याम्पतर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

उनका अनुसार हेलीमा कुन तहको क्षति भएको छ भनेर अध्ययन हुनेछ । क्षतिको विवरण हेरेर कस्तो प्रकृतिको दुर्घटना हो भन्ने निष्कर्ष निकालिने उनले बताए । प्राधिकरणका अनुसार थप क्षति भएको र उडान गर्न नमिल्ने भए त्यो दुर्घटना मानिन्छ भने उडान गर्न मिल्ने भए घटना मात्रै मानिने छ ।

त्यो हेलिकप्टर सामान झार्ने क्रममा डिसब्यालेन्स भएर चिप्लिएको हुन सक्ने अनुमान पनि उनको छ । यो हेलिकप्टरले बढी लोड बोकेकाले उक्त घटना हुनसक्ने अनुमान गरिएको छ । 

ओभरलोड, हिउँमा चिप्लिएको, हावाको गति नमिलेको वा अन्न कुनै कारणमध्ये के हो भन्ने यकिन अनुसन्धान पछि मात्र हुने भुलले बताए ।

प्राधिकरणले उड्डयन सुरक्षा विभागको पाइलटसहितको प्राविधिक टोलीलाई घटनास्थलमा घटाएको हो । प्राविधिक रिपोर्ट आएपछि हेलीले कुनै कमजोरी गरेको पाइए कारबाही हुने प्राधिकरणको भनाइ छ । 

पर्यटन मन्त्रालयले पनि क्षति कम भए पनि यसको मूल्यांकन गर्नुपर्ने भएकाले अध्ययन टोली परिचालन गरेको छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार फिल्ड रिपोर्टका आधारमा मात्रै थप भन्न सकिन्छ । त्यतिबेलासम्म अहिले नै मन्त्रालयको तहबाट कुनै निर्णय नआउने पनि उनले बताए ।

हेली एभरेस्टका बजार निर्देशक सीताराम सापकोटा अव्यवस्थित अवतरण हुन पुग्दा सानो घटना भएको बताउँछन् । हेलिकप्टर अवतरणका क्रममा थोरै चिप्लिएको उनको भनाइ छ ।

आवश्यक अध्ययनपछि मात्र थप भन्न सकिने सापकोटाले बताए ।

शनिवार पनि ह्याम्स अस्पतालको कौशीमा अवतरण गर्ने क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त हेलिकप्टरको टेल विङ्स घरको अर्को पाटोमा ठोकिएर क्षति भएको पाइएको छ । 

उक्त घटनामा भने थप अध्ययन आवश्यक नभएको प्राधिकरणको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्