
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनीयर अजयकुमार मेहतालाई २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।
घर नक्सा पासका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार मेहतालाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका–५ पुल्चोक छेउबाट सोमवार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।