
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ढुसेनी क्षेत्रमा गत शनिवार लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन ।
३ दिनसम्म पनि नियन्त्रणमा नआएसँगै बस्ती नजिकै आइपुगेकाले गाउँ जोखिममा पर्दै गएको छ ।
सुक्खा क्षेत्र हावाहरी चल्ने भएकाले अझ गाउँ जोखिममा परेको स्थानीय हरिप्रसाद नेपालले बताए । उनले भने, ‘डढेलो लागेको आज ३ दिन भएको, कसले लगाएको थाहा छैन । आज भने डढेलो गाउँ नजिकै आइपुगेको छ । गाउँलेहरूले गाउँ जोगाउने प्रयास गरिहेका छन् ।’
माथि बस्ती रहेको छ, भने तल सुक्खा वनमा डढेलो लाग्दै बस्तीतिर आउन थालेको स्थानीयको भनाइ छ । बस्तीमा प्रायःजसो खरको छानो भएको घर धेरै भएकाले आगलागीको बढी जोखिम भएको फुङ्लिङ नगरपालिका–८ का वडा सदस्य भुपिन्द्र मगरले बताए । उनले भने, ‘हिजो दिउँसो नगरपालिकाको दमकलको सहायताले डढेलो नियन्त्रण गर्ने प्रयास गरौं र मेची राजमार्गदेखि माथि जान दिएनौं तर तल जंगलमा भने दमकल जान सकेन ।’
वडा सदस्य मगरका अनुसार १५ घर जति डढेलोको जोखिम परेको छ ।
यस क्षेत्रमा प्रायः प्रत्येक वर्ष डढेलो लाग्दै आएको स्थानीयको भनाइ छ । आगलागी भएको जंगल राष्ट्रिय वन क्षेत्र पर्ने गुरुङले बताए । आगलागी भएको वनमा धेरैजसो साख्वाको, साललगायत रूख रहेको वडा सदस्य मगरले बताए ।
मेची राजमार्गको नजिक भएको डढेलो नगरपालिकाले दमकल प्रयोग गरेर नियन्त्रणमा लिए पनि राजमार्गदेखि तलका क्षेत्रमा भएको डढेलो भने नियन्त्रणमा लिन नसकेको मगरले बताए ।