
प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमवारसम्म २ करोड ५० लाख बराबरको कारोबार भएको छ ।
औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा चैत २३ गतेदेखि शुरू भएको महोत्सवमा दैनिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भइरहेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।
महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, सवारीसाधन, खेलौना लगायतका २०० कक्ष छन् ।
महोत्सवको करीब ५ लाख व्यक्तिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । आगामी वैशाख ३ गतेसम्म चल्ने महोत्सवमा करीब १० करोड रुपैयाँको कारोबार हुने आयोजकको विश्वास छ । महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले विभिन्न क्षेत्रका व्यक्तिलाई नगदसहित पुरस्कृत गरिने बताए ।
महोत्सवमा हरेक दिन विभिन्न सांगीतिक समूहको प्रस्तुति समेत रहने गरेको छ ।