२० असार २०८३, शनिबार
सरसर्ती २४ घण्टा

ढाकाकुमारको सांसद पद धरापमादेखि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट निलम्बनसम्म

राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदान गर्न निम्ता
ढाकाकुमारको सांसद पद धरापमादेखि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट निलम्बनसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको पद धरापमा परेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएसँगै उनीमाथि पार्टीले छानबिन गरिरहेको छ । यसअघि नै पार्टीले रास्वपाको सदस्य र सांसदको रुपमा कामकारबाही गर्न रोक लगाइएको बताइसकेको छ । 

यस्तै पार्टीले उनलाई स्पष्टीकरण सोधेअनुसार अनुशासन समितिमा बुझाइसकेका छन् । उनले स्पष्टीकरण दिएपछि अनुशासन समितिले मंगलवार आफ्नो प्रतिवेदन तयार पारी केन्द्रीय समितिमा पेस गरेको छ । केन्द्रीय समितिले अब आवश्यक निर्णय गर्नेछ । 
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले आफ्नो पार्टीको बेथिति सार्वजनिक गर्ने दुर्गा प्रसाईंलाई धन्यवाद दिएका छन् ।
चितवन २ को उपनिर्वाचनमा उम्मेदवार रहेका लामिछानेले चुनावी भाषणका क्रममा उनले बेथिति प्रमाणित भए पार्टी सफा हुने बताएका हुन् । 

‘दुर्गा प्रसाईंप्रति कैयौं असन्तुष्टि छन् । यसमा कुनै मञ्चमा बहस गरौंला । पछि लागेर हिँड्दिनँ । मेरो तपाईंलाई धन्यवाद छ । तपाईंले भनेको प्रमाणित भएमा पार्टी सफा गर्नमा मद्दत हुनेछ,’ रविले भनेका छन् । 

लामिछानेले ४ मंसिरमा सबैभन्दा फराकिलो अन्तरले जितेको भन्दै पाँच वर्ष लागि पाएको मतमा आफ्नो फेरि हक हुने बताए ।  
००००
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डलाई निम्ता दिएका छन् । काठमाडौँ आएका बेला उनले आधिकारिक पत्रसहित श्रमदानका लागि निम्ता दिएका हुन् । 
धरानमा खानेपानीको समस्या समाधानका लागि चलिरहेको श्रमदान अभियानमा सहभागिताका लागि उनले पत्रमार्फत अनुरोध गरेका छन् ।
००००
नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन रवीन्द्र कुमार शेरचन निलम्बनमा परेका छन् । गत अप्रिल १ मा दुबई उडानका क्रममा उनले विमानचालकको उचित व्यवस्थापन गर्न नसक्दा उडान नै रद्द भएको थियो । 
सो सम्बन्धनमा अद्योहस्ताक्षरीबाट गठित उपसमितिले पेश गरेको प्रारम्भिक प्रतिवेदनको आधारमा उनीमाथि थप जाँचबुझका लागि मंगलबार निलम्बन गरिएको कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।
००००
जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे–बझाङ सडकखण्डमा पर्ने बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप मंगलवार मध्यराति साढे ११ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
००००
सरकारी वार्ता टोली र मिटरब्याज पीडितको दोस्रो समूहसँग भएको मंगलवार तेस्रो दिनको वार्ता कानूनी प्रश्नमा पुगेर अड्किएको छ । 
अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायत माग कानूनी प्रश्न रहेकाले त्यही विषयमा वार्ता केन्द्रित भएपछि मंगलवार कुनै निष्कर्ष नआएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
००००
मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहबाट बालुवाटार, सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको छ ।
सिंहदरबारमा बसेको बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो ।
००००
न्याय परिषद्का न्यायाधीश भुवन गिरीलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोंगबुको पवित्रनगरबाट पक्राउ गरी मंगलवारै कपिलवस्तु पठाइएको जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरूसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरू अघि बढाउने बताएका छन्। 

माओवादी केन्द्र संसदीय दलका नेता समेत प्रचण्डले सबै विधेयकहरू प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरूको सहमतिमै अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताए। प्रचण्डले यसैमा जोड दिएर अघि बढ्न पार्टीका सांसदहरूलाई पनि निर्देशन पनि दिए।
००००
विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति १४ खर्ब एक अर्ब रुपैयाँ नाघेको छ ।
००००
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन्। मंगलवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले नेपालका बैंक वित्तीय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गरे।​
००००

​प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सकारात्मक बनेको छ । बालुवाटारस्थित सभामुख निवासमा भएको छलफलमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन दलहरूबीच सहमति भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्