
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा आजदेखि वैशाख ८ गतेसम्म भारतका प्रमुख शहरमा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम हुने भएको छ ।
कोभिड– १९ को प्रभाव एवं अन्य विभिन्न घटनाक्रमले पोखराको पर्यटन सुस्ताइरहेको अवस्थामा पोखरा र नेपालको लागि महत्त्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर लगायतका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
‘पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बि२बी भेट २०२३’ नामक कार्यक्रममा पोखराका पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मी सहभागी बन्ने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।
‘कार्यक्रमका टोलीले पटना, बाराणासी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारलाई आमन्त्रण गरी पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिविधि समेटिएको श्रव्यदृश्य र त्यसको बारेमा जानकारी दिने प्रबद्र्धनात्मक सामग्री वितरण गरिने छ,’ उनले भने, ‘त्यहाँस्थित आम नागरिकलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको भन्दै भ्रमणका लागि अनुरोध गर्ने हाम्रो योजना छ ।’
कार्यक्रममा पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि सबै मौसममा भ्रमण गर्न उपयुक्त गन्तव्य हो भन्ने जानकारी दिइने महासचिव संगीता पौडेलले जानकारी दिइन् । ‘पोखरा धार्मिक, साहसिक, सांस्कृतिक र मनोरञ्जनका लागि महत्त्वपूर्ण शहर हो भन्ने जानकारीसँगै यो नेपालको पर्यटकीय राजधानी भन्ने सन्देश दिनेछौं,’ उनले भनिन्, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै अन्तर्राष्ट्रिय उडानका लागि भारतीय पर्यटन व्यवसायीलाई प्रोत्साहित गर्नेछौं ।’
विश्वमै धार्मिक महत्त्व बोकेका शालिग्राम पाइने क्षेत्र हो भनि जानकारी समेत गराइने कायक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दाहालले बताए । भारतबाट आउने पर्यटकलाई सीमा क्षेत्रमा हुने बाधा व्यवधानका बारेमा जानकारी लिइने र सडक मार्गबाट सहज रूपमा यहाँको भ्रमण गर्न सकिने सन्देश प्रवाह गर्ने उनले बताए ।
पोखरादेखि नेपालका भारतीय सीमावर्ती शहरमा हवाई सेवा शुरूआत भएको जानकारीसँगै यहाँबाट छोटो दूरीमा नै विश्वकै ८ हजार मिटरभन्दा बढी उचाइका हिम शुंखलाको अवलोकन गर्न सकिने समेत जानकारी गराउने कार्यक्रमको लक्ष्य छ । कार्यक्रमले पोखरा, गण्डकी प्रदेशलगायत नेपालकै पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।
पोखराको पर्यटकीय विकासका लागि पर्यटनसम्बद्ध संघसंस्थासँग सहकार्य एवं सहयोगका लागि महानगरपालिका तयार रहेको उनले बताए । नयाँ वर्षका अवसरमा भारतीय लगायत विदेशी पर्यटक पोखरा आएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । भारतका प्रमुख शहरमा गर्न लागिएको कार्यक्रम फलदायी बन्ने उनको भनाइ छ ।