गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली पाल्पा आइपुगेको छ ।
गोरखाबाट गत चैत २९ गते निस्केको टोली तनहुँ, स्याङ्जा हुँदै शनिवार पाल्पाको रामपुर आइपुगेको हो ।
तत्कालीन नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको बुटवलको जितगढी किल्लासम्म पुग्ने उद्देश्यले टोली गोरखाबाट पाल्पा हुँदै बुटवलको जितगढी हिँडेको हो । रामपुर नगरपालिकाको आयोजनामा टोलीलाई भव्य स्वागत गरिएको छ ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, रामपुर नगरका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, विभिन्न वडाध्यक्ष, स्थानीय महिला समूह, नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीद्वारा स्वागत तथा सम्मान गरिएको छ । तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा प्रयोग गरेको बाटो हुँदै टोली पैदल बुटवल पुग्ने योजना सेनाको छ ।
एकीकरण मार्ग, ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, ऐतिहासिक एकीकरण अभियानको संरक्षण भावी पुस्तामा हस्तान्तरण गर्ने, राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले सरोकारवाला, स्थानीय निकायको सहभागितामा ऐतिहासिक महत्त्व बोकेका किल्ला, गढी, युद्धस्थल, पदमार्ग लगायत धरोधरको संरक्षण प्रवद्र्धन गर्नका लागि प्रथमपटक यस ऐतिहासिक गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा जितगढी (रुपन्देही) पदयात्रा कार्यक्रम तय गरिएको दि फेमस महेन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले बताए ।
नेपाल एकीकरण अभियानको उद्गस्थल गोरखा दरबारबाट काठमाडौंतर्फ पदयात्रा विगत ५ वर्षदेखि सञ्चालन भई पुस २७ गते मनाइन्छ । यसै सन्दर्भमा अर्को ऐतिहासिक कार्यको थालनीको रूपमा २०७९ चैत २९ गते गोरखाबाट शुरू भएको प्रथम ऐतिहासिक गोरखा जितगढी एकीकरण पदयात्राका कार्यक्रमअन्तर्गत टोली पाल्पा रामपुर आइपुगेको हो । सहायक रथी ललिबहादुर कुँवरले गोरखाबाट जितगढी पुग्ने ५५ जनाको टोली रहेको र जिल्ला–जिल्लाका ३५ जना सेनाको सहभागितामा पदयात्रा गरिएको बताए ।
‘राष्ट्रिय एकता, पर्यटन प्रवद्र्धन लगायत सबैमा सैनिक–नागरिक सम्बन्ध थप प्रगाढ बनाउँदै जाने र सेनाले ऐतिहासिक धरोहर गढी, किल्लामा सबै अवलोकन गर्ने गरी कार्यक्रम आयोजना गरिएको छ,’ उनले भने । गोरखाबाट काठमाडौंका लागि एकीकृत पदयात्रा गरिरहेको अवस्थामा त्यसैको स्वरूप पश्चिमतर्फ एकीकरण पदयात्रा प्रथमपटक हुन लागेको हो ।
एकीकरणमा पृथ्वीनारायण शाहको पालामा ५ वटा पल्टन, जितगढीमा भाग लिएको एउटा गुल्मलगायत आ–आफ्नो जिल्ला–जिल्लामा तैनाथ गणको सहभागिता, जनप्रतिनिधि, सरोकारवालाको सहभागितामा हर्षोल्लासका साथ ऐतिहासिक पदयात्रा मनाइँदैछ ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख खनालले नेपाल एकीकरणमा हाम्रा वीर पुर्खाहरूले गरेको योगदानको स्मरण गर्दै अहिले जुन कार्य भइरहेको र त्यसले समाजमा सकारात्मक प्रभाव पारेको बताए ।