
धनगढीमा आयोजना भइरहेको मानसखण्ड सम्मेलनको समापन समारोहमा सहभागी हुन सडकमार्गबाट नेपाल आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले स्वागत गरेका छन् ।
धनगढीमा मुख्यमन्त्रीले स्वागत गर्दा भौतिक योजना मन्त्री प्रकाश देउवा र आर्थिक मामिला मन्त्री नरेश शाही पनि सहभागी थिए ।
सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविद्यालय र भारत उत्तराखण्डको कुमाऊ विश्व विद्यालयको संयुक्त आयोजनामा भइरहेको मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहमा चौथाईवालेले सम्बोधन गर्ने कार्यक्रम छ।
समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद आरजू देउवाको समेत उपस्थिति हुने आयोजकले जनाएको छ।