
फोक्सोमा देखिएको समस्या समाधान नभएपछि राष्ट्रपति रामचन्द्र पौडेल थप उपचारका लागि भारततर्फ प्रस्थान गरेका छन् ।
श्री एयरलाईन्सको विमानबाटबाट पौडेल नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) गएका हुन् ।
‘सम्माननीय राष्ट्रपतिले विगतमा पनि एम्स अस्पतालमा उपचार गराउने गर्नुभएको थियो’ पौडेलका प्रेस संयोजक खिला कार्कीले भने, ‘नेपालको त्रिवि शिक्षण अस्पतालका चिकित्सक र एम्स अस्पतालको चिकित्सकहरूका बीचमा परामर्श हुँदा उहाँलाई उपचारका लागि त्यहीँ जान उपयुक्त हुने राय आएपछि एम्स अस्पताल जानुभएको चिकित्सकहरूले बताउनुभएको छ ।’
समस्या आएपछि मंगलवार पौडेल शिक्षण अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाटै बुधवार बिहान श्री एयरलाइन्सको चार्टर विमानबाट दिल्ली लगिएको हो ।
पौडेललाई बिदाइ गर्न परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
एयरपोर्टमा पुगेका शुभेच्छुकसहितलाई हात हल्लाएर पौडेल विमानमा प्रवेश गरेका थिए ।
यसअघिदेखि नै पौडेलको फोक्सोको तल्लो भागमा पानी जमेको थियो । तर, एन्टिबायोटिकले पनि ठीक नगरेपछि थप परीक्षण र उपचारको लागि उनलाई भारत लान चिकित्सकहरूले सुझाव दिएका थिए ।
पौडेल १८ चैतमा शिक्षण अस्पतालमा भर्ना भएर २२ चैतमा डिस्चार्ज भएका थिए । त्यसपछि पनि हरेक साता फलोअपमा थिए ।
तर, एन्टिबायोटिकले पनि काम नगरेको र फोक्सोको पानी निकालेर परीक्षण गरेपछि पौडेललाई थप उपचारका लागि भारत लगिएको राष्ट्रपति स्रोतले जानकारी दियो ।