०६ असार २०८३, शनिबार

युरोप छिर्‍यो चलचित्र जारी, बेल्जियममा प्रदर्शन

युरोप छिर्‍यो चलचित्र जारी, बेल्जियममा प्रदर्शन

यही वैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र “जारी” युरोपमा प्रदर्शन शुरू गरिएको छ।

बेल्जियमको ब्रुज शहरमा रहेको लिमेरे सिनेमा हलमा उपस्थित भएर सयौं नेपालीहरूले उपेन्द्र सुब्बाद्वारा निर्देशित फिल्म ‘जारी’ हेरेका छन् । 

‘चरी बस्यो’ गीतको लोकप्रियता र बलियो स्टारकास्टका कारण नेपालमा मात्र होइन, विदेशमा समेत यस फिल्मको पखाई थियो। यो गीतमा टिकटक बनाउनेहरूको लर्को नै थियो। फिल्म हलमा भेटिएकी २१ वर्षीया उमा थापाले भनिन्- “म त टिकटकमा गीत सुनेर आएको, चरी बस्यो भन्ने गीत निकै मन पर्छ, फिल्म पनि राम्रै होला ।” 

आफ्ना साना स्कूले केटाकेटी समेत लिएर हलमा आएका राजन राईले फिल्मले नेपाली सभ्यता र प्रकृतिलाई सुन्दर देखाएको बताए।

“मैले नानीहरू सबैलाई पहिल्यैदेखि जानुपर्छ है जारी फिल्म हेर्न भनेको थिएँ, आज लिएर आएँ किनकी यो फिल्मले नेपाल चिनाउन मद्दत गरेको छ । यहीँ जन्मेका नानीहरूलाई आफ्नो इतिहास थाहा पाउन जारीले मद्दत गरेको छ ।” 

निकै उत्सुकताका साथमा फिल्म हेर्न आएकी निशा लिम्बूले यो पूर्वको कुनै गाउँतिरको जस्तै कथा भएको बताइन् ।

उनले भनिन्, “यो फिल्म हेर्दा नुमाफुङ सम्झिरहेको थिएँ । फेरि एकपटक नुमाफुङ हेर्ने इच्छा बढाएको छ । फिल्मले दिन खोजेको सन्देश अर्ग्यानिक छ ।”​

कतिपयले आफूहरू दयाहाङ राई र मिरुना मगरको अभिनय हेर्न मात्रै आएको प्रतिक्रिया दिएका थिए ।

जारी प्रथामाथि आधारित भएर निर्माता रामबाबु गुरुङले निर्माण गरेको यो फिल्ममा अर्ग्यानिक स्वाद भएको दर्शकहरूले बताएका छन् ।

लिम्बू समुदायमा प्रचलित जारी प्रथालाई आधार बनाएर बनाइएको फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बा, रेखा लिम्बूलगायतको अभिनय रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्