२९ असार २०८३, सोमबार

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ?

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ?

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आइतबार तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौनअवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले मौनअवधि तोकेको हो ।  

चैत २४ गतेदेखि नै आचारसंहिता जारी गरेको आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था रहेको जनाएको छ । बिहीबारसम्म दलहरुले तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनका लागि तीव्र प्रचारप्रसार गरेका थिए ।
००००
सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरिन् । सोही क्रममा मन्त्रिपरिषद्का विभिन्न निर्णय पनि सार्वजनिक गरियो ।
००००
उच्च अदालत पाटनले नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेजी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश गर्दै  खारेजीको निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको हो ।
००००
राजधानीको चाबहिलमा एक जना महिलाको चक्कु प्रहार गरेर हत्या भएको छ । बागलुङकी मिरा पाण्डे आचार्यको बिहीबार हत्या भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
उनका अनुसार चावहिलमा भाँडाकुँडाको व्यापार गर्दै आएकी उनलाई अज्ञात समूहले चक्कु प्रहार गरेर हत्या गरेको हो । कसले र किन हत्या गर्यो भन्ने अझै जानकारी भइनसकेको एसपी रिजालले लोकान्तरलाई बताए । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ ।
००००
गायक प्रकाश सपूतले आफ्नो गीत ‘सकम्बरी’माथि रात्रिकालीन मनोरन्जन व्यवसायी संघले जनाएको आपत्तिबारे स्पष्टीकरण दिएका छन् ।
उनको गीतले अत्याधिक चर्चा र विवादका बीच युट्युबमा एक हप्तामै १ करोड भ्युज पाएर कीर्तिमान रेकर्ड कायम गरेको छ ।

बिहीवार आफ्नो गीत करोड पटक हेरिएकोमा उनले सबैलाई धन्यवाद दिँदै गीतलाई लिएर आएका सबैखाले प्रतिक्रियाहरूलाई मनन गरेको बताएका छन् । उनले माया र प्रशंसाले हौसला मिलेको र खबरदारीले सचेत गराएको उल्लेख गरेका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास छिट्टै गर्ने दाबी गरेका छन् ।बिहीबार बारा मा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आवश्यक गृहकार्य भइरहेकोले छिट्टै शिलान्यास नै गर्ने दाबी गरेका हुन् ।
००००
भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।
००००
प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औंसी बिहीबार मनाइयो । सो दिन काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको थियो । 
००००
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब रु तीन अर्ब भुक्तानी गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको रु दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ भुक्तानी गरेको हो ।
००००
वादविवादकाबीच कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीबार कांग्रेसका तर्फबाट वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएका हुन् ।
००००
वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेक्रम बढेको छ । योजना शुभारम्भ भएको एक महिनाको अवधिमा मात्रै ५८ हजार नौ सय ८६ वैदेशिक क्षेत्रका श्रमिक योजनामा आबद्ध भएका सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए । हालसम्म औपचारिक क्षेत्रका करिब चार लाख पाँच हजार उक्त कोषमा आबद्ध भएका छन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय चार दशमलव ४० मा सीमित भएको छ ।
००००
एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ ।   
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । यसजितसँगै दुई खेल खेलेको मलेसियालले दुई अङ्क जोडेको छ ।   

salt training

कमेन्ट गर्नुहोस्