
आँपका मज्जर नै मधुवा (आँप र लिची फलका मञ्जरी र पातमा लाग्ने एक प्रकारको किरा) ले डढाएर सखाप पारेपछि बगैंचा खेतीका किसान निरास बनेका छन् ।
आँपका बोटमा पात, हाँगा नदेखिने गरी मज्जर (मञ्जरी, फूल) खिल्दा यसपालि बगैंचा खेतीबाट राम्रो आम्दानी लिने आश बोकेका किसान गर्मी चर्कदै गएसँगै मधुवाले मज्जर भसक्क डढाएपछि निराश भएका हुन् ।
नयाँ वर्ष लागेयता बगैंचा पुग्दा वीरक्त लाग्ने गरेको किसानको गुनासो छ ।
‘यतिखेर हाँगैपिच्छे आँपका टिकोला (चिचिला) का झुप्पा देखिन्थे तर यसपालि मज्जर डढेको कालो खरानी पो छ,’ महोत्तरीको भङ्गाहा–४ का बगैंचा खेतीका किसान हरिदेव साहले भने, ‘यो त होला भनेर आश गर्यो, त्यो आश पनि मरेपछि के हेरेर चित्त बुझाउनु ?’
बगैंचाका आँपका बोटमा अहिले मधुवाले डढाएर कालो ढुसी परेका पात देखिने गरेको साह बताउँछन् । ‘मज्जर त डढेर कालो खरानी भइहाल्यो, पात रुखमै कालो ढुसी परेको देखिँदैछ,’ उनले भने, ‘यी रोगव्याध र अभाव हामी किसानकै रहेछन् ।’
साहजस्तै उनकै बस्तीका अरुण गिरी, गङ्गाराम महतो, सत्यनारायण यादव र वीरेन्द्र महतो पनि आँपको मज्जर मधुवाले भुसुक्कै डढाएपछि पिरोलिएका छन् । ‘आँप फुलेको देख्दा यसपालि राम्रै आम्दानी लिने सपना बुनिएको थियो,’ फलफूल किसान वीरेन्द्र महतोले भने, ‘राम्ररी टिकोला (चिचिला) नै लाग्न नपाई मज्जरमै डढ्यो ।’
मज्जरलाई जेलेर मधुवाले डढाएपछि त्यसमा टिकोला नलाग्ने किसान बताउँछन् । समस्या बढेपछि मज्जर मात्र नभएर पातै पनि डढाएर मधुवाले कालो बनाउँछ ।
मधुवाको समस्याले व्यावसायिक रूपमै फलफूल खेती गर्ने यहाँका किसान निराश भएका छन् । फलफूल खेतीलाई नै गुजाराको मुख्य पेसा बनाएका किसानमा मधुवा रोगको समस्याले यसपालि चिन्ता बढाएको हो । ‘खै केही वर्ष पहिले त फलफूल खेती हेर्ने जेटी बाबु (कृषि सहायक) आएर यस्तो गर्नोस भनेर परामर्श दिन्थे,’ बर्दिवास नगरपालिका–९ पशुपतिनगरका फलफूल किसान विनोद महतोले भने, ‘अचेल त केही वर्षयता कोही सोधखोज गर्न आउँदैनन्, आफूले जानेको गरियो, केही लागेन ।’
समय–समयमा कृषि परामर्श नपाउँदा पनि आफूहरू पछि परेको फलफूल किसानको गुनासो छ । खासमा पहिलेका जिल्ला कृषि विकास कार्यालयको बागवानी शाखा र जिल्लाका अन्य भेगका कृषि सेवा केन्द र उपकेन्द्रबाट पाइने सल्लाह, सुझाव अब ती कार्यालय नै नरहेपछि पाउन छाडिएको किसानको भनाइ छ ।