
पाल्पाको रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट १ करोड ८७ लाख बराबरको आम्दानी भएको छ ।
रामपुर उद्योग वाणिज्य संघले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा १ करोड ८ लाख ४ हजार ९५० रुपैयाँ आम्दानी र ६८ लाख २२ हजार ७१५ रुपैयाँ बराबरको खर्च रहेको जानकारी गराइएको छ ।
शुक्रवार पत्रकार सम्मेलन गरी संघले मेलाको आम्दानी र खर्चको विवारण सार्वजनिक गरेको हो । संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले मेलाबाट ४० लाख ५२ हजार २३५ रुपैयाँ बचत भएको बताए ।
प्रवेश टिकट बिक्रीबाट ४६ लाख ४७ हजार ५८०, विशेष टिकट बिक्रीबाट ३८ हजार २५०, स्टल तथा होटलबाट ४१ लाख ५ हजार, प्रायोजक तथा सहप्रयोजकबाट ८ लाख ३६ हजार ५५०, भलिबल खेलबाट २६ हजार ४००, कृषि ज्ञान केन्द्र पाल्पाबाट ७१ हजार १७०, रामपुर नगरपालिकाबाट १० लाख, पूर्वखोला, निस्दी र रम्भा गाउँपालिकाबाट ५०/५० हजार गरी १ करोड ८ लाख ७४ हजार ९५० रुपैयाँ आम्दानी भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
आम्दानी भएको रकममध्ये पालिकाबाट रकम भुक्तानी लिन बाँकी रहेको छ । मेलाबाट बचत भएको रकम संघको भवन निर्माण, व्यवस्थित रूपमा कार्यालय सञ्चालन र संघका सदस्यको क्षमता अभिवृद्धिका लागि खर्च गरिने वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताए । केही रकम आउन ढिला भएकाले समयमै खर्च सार्वजनिक गर्न नसकिएको र लेखापरीक्षणपश्चात् मात्रै खर्च सार्वजनिक गरिएको छ ।
रामपुरमा गत माघ २७ देखि फागुन ८ गतेसम्म तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला भएको थियो ।