२९ जेठ २०८३, शुक्रबार

व्यवसायीले गरे मालबाहक ढुवानी ठप्प

बैशाख १०, २०८०
व्यवसायीले गरे मालबाहक ढुवानी ठप्प
प्रतिकात्मक तस्वीर

अरनिको, बीपी र हेलम्बु राजमार्गमा गुड्ने मालबाहक सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् । ३ दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले शनिवार रातिदेखि ढुवानी ठप्प पारेका हुन् ।

गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मंगलवार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा कार्यालयले बिहीवारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको थियो ।

यातायात व्यवस्था विभागको ७ दशमलव ५ घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्र (तौलपुल) मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले बोक्नुपर्ने तौलको यकिन नगरी दुःख दिएको कारण देखाउँदै व्यवसायीले ढुवानी रोकेको बताएका छन् ।
 
व्यवसायीले पनौती क्षेत्रबाट शुक्रवार रातिदेखि नै ढुवानी ठप्प पारेका थिए भने शनिवार राति अरनिको राजमार्ग, बीपी राजमार्ग र हेलम्बु राजमार्गका ढुवानी ठप्प पारेका हुन् । टिप्परलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाउँदै आइएको छ ।

विक्रम संवत् २०७८ पुसमा काभ्रेपलाञ्चोकका ३ स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । 

केराघारीमा शनिवार साँझदेखि नै चालकले मालबाहक गाडी तौलन नहुने भन्दै विरोध जनाएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालका अनुसार सबै तौलपुलमा व्यवसायी तथा यातायात मजदुरले विरोध जनाउन थालेपछि त्यस आसपास ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो । प्रहरी परिचालन र विरोधबीच नगन्य मात्रामा मालबाहक सवारी चलेको थियो । 

बागमती टिप्पर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले प्रशासनले कति तौल बोक्नुुपर्ने स्पष्ट नगरी गाडीको तौल लिएर झन्झट दिलाएको आरोप लगाउँदै आएका छन् । ‘हामी पनि विभागको प्रावधानअनुसार नै चलेका छौं, तौल लिने नाममा दुःख दिनुभएन, त्यसैको विरोधस्वरूप ढुवानी रोकिएको हो,’ उनले भने । तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने उनको भनाइ छ ।

तौलपुल स्थापनापछि मालबाहक सवारीले आनाकानी गर्दै भारमापन गर्न नमानेका कारण तौलपुल लथालिङ्ग अवस्थामा रहेपछि काभ्रेपलाञ्चोक प्रशासनले बिहीवारदेखि अनिवार्य रूपमा भारमापन गर्न निर्देशन दिएको थियो । तौलपुल स्थापनापछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न/गराउन आग्रह समेत गर्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्