भारतको पञ्जाब प्रहरीले ३६ दिनपछि वारिस पञ्जाब दे समूहको नाइके अमृतपाल सिंहलाई पक्राउ गरेको छ ।
खालिस्तान समर्थक सिंहलाई प्रहरीले मोगामा रहेको गुरुद्वारामा पक्राउ गरेको हो ।
अजनालामा प्रहरी चौकीमाथि आक्रमण गरिएको ३६ दिनपछि अमृतपाल पक्राउ परेको हो ।
अमृतपालले आफैं गिरफ्तारी दिएको बताइएको छ । पक्राउ पर्नुअघि अमृतपालले कपडा फेरेको, पाठ गरेको अनि संगतलाई सम्बोधन गरेको थियो । अनि बाहिर आएर उसले आफैंलाई प्रहरीसमक्ष समर्पण गरेको थियो ।
उसलाई डिब्रुगढ ल्याइँदैछ । त्यहाँ उसका साथीहरू पहिल्यै कैद छन् ।
अमृतपालका सबै साथीलाई पक्राउ गरिसकिएको छ । तिनीहरूलाई लगातार सोधपुछ गरिँदैछ ।
अमृतपालकी पत्नी किरणदीप कौरलाई गत बिहीवार अमृतसर विमानस्थलमा प्रहरीले रोकेर हिरासतमा लिएको थियो । किरणदीपमाथि प्रहरीले दबाब दिएपछि अमृतपालले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताइएको छ ।
पञ्जाब प्रहरीले अमृतपाल पक्राउ परेको जानकारी दिँदै मानिसहरूलाई शान्ति र सद्भाव कायम गर्न अपील गरेको छ ।