२६ असार २०८३, शुक्रबार

सुदूरपश्चिमका पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या

बैशाख ११, २०८०
सुदूरपश्चिमका पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या

सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको संक्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन् ।

रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन् ।

पशुको शरीरभर गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको भनाइ रहेको छ । गाईगोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने, नाकबाट सिँगान बग्ने लगायतका लक्षण देखा पर्ने गरेको छ ।

घाउमा किरा पर्ने र पशुको मृत्यु हुने गरेको छ ।
 
पशु चिकित्सकका अनुसार रोगबाट संक्रमित भएका दुधालु पशुले दूध घटाउँदै लैजाने गर्दछन् । गत वर्ष लम्पी स्कीन रोग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का व्यावसायिक रूपमा गाईपालनमा लागेका किसानको फार्ममा देखापरेको थियो ।

हाल यो रोग व्यापकरुपमा फैलिएको छ । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरदेखि पहाडी र हिमाली जिल्लामा लम्पी स्कीन रोग देखा पर्न थालेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेश जोशीले जानकारी दिए । उनका अनुसार हालसम्म यस रोगबाट प्रदेशका ९ वटै जिल्लामा १० हजार बढी पशु संक्रमित भएका छन् । १०० बढी पशुको यसै रोगका कारण मृत्यु भइसकेको छ ।
 
‘रोगको संक्रमण फैलिन नदिनका लागि किसानले सजग हुनुपर्छ,’ उनले भने, ‘रोग देखा परेका गाई गोरुलाई अलग्गै राखी सरसफाई गर्ने र आवश्यकताका आधारमा पशु चिकित्सक वा प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ ।’ सरुवा रोग भएकाले अरु पशुमा संक्रमण फैलिन नदिनका लागि पशुपालक किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे जानकारी दिन आवश्यक रहेको उनले उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्