
प्रकाश सपूतको गीत ‘सकम्बरी’ (फूलमाया)लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ ।
गीतको भिडियोमा पारिजातको कृति ‘शिरीषको फूल’का दुई पात्रहरूको नाम सकम्बरी र सुयोगवीर राखेकोमा केन्द्रले आपत्ति जनाएको हो ।
प्रेस विज्ञप्ति जारी गर्दै स्मृति केन्द्रले भनेको छ ‘साहित्यकार पारिजातद्वारा लिखित उपन्यास शिरीषको फूलकी पात्र सकम्बरीको चरित्रसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु, पुरुष पात्रलाई सुयोगवीर नाम दिनु र शिरीषको फूल पुस्तकसमेत देखाउनुलाई संयोग मात्र मान्ने अवस्था देखिएन । यसरी पारिजातद्वारा लेखिएको कृति प्रयोग गर्नका लागि यस केन्द्रसँग कुनै स्वीकृति लिएको अवस्था पनि छैन । यसबाट प्रतिलिपि अधिकारको पनि उल्लंघन भएको छ ।’
पारिजात स्वयं नारी सशक्तीकरणका लागि लडेको व्यक्तित्व भएको स्मरण गर्दै महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रुपमा प्रस्तुत गरिएको गीतको छायांकनमा अप्रासङ्गिक रूपमा शिरीषको फूल पुस्तक प्रयोग गरिएको र गीति भिडियोमा देखाइएका पात्रहरूको नाम सकम्बरी र सुयोगवीर राखिएको भन्दै केन्द्रले आपत्ति जनाएको हो ।
‘अनिधिकृत छायांकनबाट सुप्रसिद्ध साहित्यकार पारिजातको कृतिमाथि अन्याय हुनुका साथै उहाँको छविलाई अमर्यादित पार्ने काम भएको पारिजात स्मृति केन्द्रको ठहर छ’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्मृति केन्द्र सर्जकको स्वतन्त्रताप्रति सदैव संवेदनशील रही आएको र लेखकीय स्वतन्त्रताको पक्षधर रहेको पनि जानकारी गराउँदै श्री प्रकाश सपूतलाई क्षमायाचना गर्न तथा त्यस्ता दृष्यहरु सच्याउन माग गर्दछ ।’
प्रकाशले आफ्नै शब्द, संगीत र स्वरमा सार्वजनिक गरेको ‘सकम्बरी’ गीत केही दिनयता सर्वाधिक चर्चामा छ । गीतले १० दिनमै युट्युबमा डेढ करोड भ्युज पाएको छ ।
