
हाँस्य टेलिसिरियलकी कलाकार एवं म्युजिक भिडियोकी लोकप्रिय मोडल रियासा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् ।
केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच यही वैशाख २० गते बुधवार विवाह हुन लागेको हो ।
विवाहको निमन्त्रणा कार्ड समेत वितरण भइसकेको छ । भक्तपुरको दरबार रिसोर्टमा यी दुईको वैवाहिक कार्यक्रम राखिएको निकट स्रोतले जानकारी दिएको छ ।
रियासा र भिक्टर करिब तीन वर्षदेखि गुपचुप प्रेममा थिए । अफेयरबारे गसिपहरू आएपनि उनीहरूले सार्वजनिकरूपमा भने आफूहरूको प्रेम स्वीकार गरेका थिएनन् ।
युट्युबबाट प्रशारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’ बाट रियासा चर्चामा आएकी थिइन् । सो सिरिजबाट अलग भएपछि उनी पछिल्लो समय टेलिसिरियल ‘गाह्रो छ हो’ र ‘अति भो !’मा व्यस्त छिन् ।
म्युजिक भिडियोमा पनि उनी डिमान्डेड मोडल हुन् । उनले मोडलिङ गरेका थुप्रै म्युजिक भिडियोहरू चर्चित छन् ।
त्यस्तै, भिक्टर चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का संस्थापक हुन् । यो पेज युवा पुस्तामाझ निकै लोकप्रिय र विश्वसनीय मानिन्छ ।
यी दुईको विवाहको खबरलाई लिएर फ्यान एवं शुभचिन्तकहरुले बधाई एवं शुभकामना दिइरहेका छन् ।