ट्विटरमा ब्लुटिक अर्थात् आधिकारिकता पाएका प्रयोगकर्ताको नामपछाडिको नीलो धर्को हटाइएपछि भाँडभैलो मच्चिएको छ ।
अहिले सेलेब्रिटीहरूको फेक अकाउन्ट बनाउने र वास्तविक सेलेब्रिटीको अकाउन्ट चिन्न नसकिने भएको छ ।
यसबाट समस्या आइलागेपछि ट्विटरले विशाल संख्यामा फलोअर भएका प्रयोगकर्तालाई पैसा नतिरिकनै भेरिफाई गरिदिएको छ ।
त्यसक्रममा मृत्यु भइसकेका सेलेब्रिटीको ब्लुटिक पनि फर्काइएको छ । अझ मृत सेलेब्रिटीले ट्विटर ब्लुको सबस्क्राइब गरेको अनि फोन नम्बर पनि भेरिफाई गरेको झूटो दाबी ट्विटरले गरेको छ ।
यही अप्रिल महिनादेखि सेलेब्रिटीलाई सित्तैमा ब्लु टिक दिने काम बन्द गरिएको छ । ब्लुटिक पाउनका लागि महिनाको आठ डलर तिर्नुपर्ने प्रावधान राखिएको छ ।
तर यो पैसा तिर्न सेलेब्रिटीहरूले नमानेपछि ट्विटरका मालिक इलोन मस्कले स्टिफन किङ लगायत कतिपय सेलेब्रिटीको पैसा आफैं तिरिदिएका छन् ।