
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौंता रद्ध गर्ने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री ज्वालाले विकास परियोजनाहरूको कामलाई बेवारिसे बनाउने, गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौंता तोडेर नयाँ विकल्पमा जान सरकार तयार रहेको बताएका हुन् ।
विकास आयोजनाहरूको कामलाई अस्तव्यस्त बनाउने अवस्थाबाट मुक्त गराउन आफूले सम्बन्धित पक्षलाई सचेत गराएको पनि उनले जानकारी दिए । ‘समयमा काम गर्नुपर्ने र त्यो पनि गुणस्तरीय काम गर्ननिम्ति हामीले जुन खालको निर्देशन दिएका छौं,' उनले भने, 'यसमा कहीँकतै 'सम्प्रमाईज' हुँदैन । समयमा काम सम्पन्न नगर्ने, ठेक्का लिएर अस्तव्यस्त बनाउने, बेवारिसे बनाउनेका निम्ति ठेक्का तोडन हामी तयार छौं । ती ठेक्का तोडिएपछि नयाँ विकल्पमा जानुपर्ने अवस्था पनि हुन सक्छ । त्यसका निम्ति मन्त्रालय तयार छ ।’