
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार तलब, भत्ता र पेन्सन खुवाउन नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेको छ ।
केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा पत्रकार सम्मेलन गर्दै उपमहासचिव विष्णु रिमालले राजनीतिक अस्थिरता निश्चित समयमा ट्रयाकमा आउने भए पनि मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको टिप्पणी गरेका हुन् । ‘राजनीतिक अस्थिरता हुँदा विकास ओझेलमा पर्छन् ।
राजनीतिक अस्थिरतालाई एउटा ठाउँमा ल्याउन सकिएला । तर यही बेला मुलुकको अर्थतन्त्र ओरालो लाग्ने हर्कत भएका छन्’ उनले भने, ‘विकास निर्माणमा पूँजीगत खर्च नभएको कुरा गर्छौ । तर ८० र ९० प्रतिशत काम हुँदा पनि सरकारले भुक्तानी दिन सकेको छैन ।’ यतिमात्र होइन शिक्षकले पेन्सन नपाउने र सामाजिक सुरक्षा भत्तासमेत नपाउने अवस्था आएको उनले जानकारी दिए ।
‘तीन महिनादेखि शिक्षकले पेन्सन पाएका छैनन् । पेन्सनको ५ अर्ब दिन बाँकी छ । सेवा निवृत्तले १० अर्ब पेन्सन पाउनुपर्ने अवस्था पनि छ । ५ अर्ब बढी सामाजिक सुरक्षा भत्ता दिन बाँकी छ’ उनले भने, ‘यी सबैको १ खर्ब २० अर्बको भुक्तानी गर्न बाँकी छ र तर सरकार चिन्तित छैन ।’
सरकार ३० अर्ब बराबरको सावा ब्याज ऋण तिर्नुपर्ने अवस्थाप्रति पनि चिन्तित नभएको उनले बताए । समग्रमा कर्मचारीले तलब नपाउने भयावय आर्थिक स्थिति भएको बेलामा माओवादीका पूर्व लडाकुलाई १ अर्ब ४० करोड बाँड्ने विषय बाहिर आएकोमा पनि प्रष्ट जवाफ दिन सरकारसँग माग गरे । ‘अर्थतन्त्र कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुग्न डरलाग्दो चिन्ताको विषय हो’ रिमालले भने, ‘यस्तै भइरहे स्थानीय तहमा पनि यस्तै आर्थिक समस्या आउने पक्का छ ।’