
विराटनगर–१२ की मलिना मण्डल २०७६ सालमा मेडिकल लाइसेन्सको परीक्षामा उत्तीर्ण भइन् । तर उनको हातमा अहिलेसम्म पनि मेडिकल लाइसेन्स परेको छैन । परीक्षामा सामेल हुनका लागिसमेत उच्च अदालतको सहारा लिएकी उनले लाइसेन्स नपाउनुको मुख्य कारण भनेको उनीसँग नेपाली नागरिकता नहुनु हो ।
विगत १३ वर्षदेखि संघर्ष गरे पनि उनले अझै नागरिकता पाउन सकेकी छैनन् । बुबासँग जन्मसिद्ध नागरिकता भएकाले आफूले नागरिकता प्राप्त गर्न नसकेको मलिना बताउँछिन् ।
नागरिकताविहीन भएकै कारण एसएलसी पास भएपछि उच्च शिक्षा अध्ययनका लागि समस्या परेको उनले सुनाइन् । विराटनगरकै एक मेडिकल कलेजबाट उनले २०७४ सालमा नर्सिङ पास गरेकी थिइन् । त्यसपछि मेडिकल लाइसेन्स लिने र रोजगारी गर्ने उनको सोच थियो ।
‘लाइसेन्स अहिले पनि मेडिकल काउन्सिलमै छ,’ उनले भनिन् ‘नागरिकता भएपछि मात्रै भेरीफाई गरेर लाइसेन्स दिने भनेर मेडिकल काउन्सिलले रोकेको छ । अहिले लाइसेन्स नहुँदा काम पाइँदैन, काम भइहाल्यो भने पनि जति पैसा दिन्छ त्यति मै काम गर्नुपर्ने बाध्यता छ ।’
नागरिकता नहुँदा सिम कार्डसमेत मागेर चलाउनु पर्ने बाध्यता रहेको विराटनगरकै युवा सागर विश्वासले बताए । ३१ वर्षको हुँदा पनि नागरिकताविहीन भएर बाँच्न राज्यले नै बाध्य बनाएको उनको दुखेसो छ । ‘जागिर खानका लागि नागरिकता खोज्छन्, पेट पाल्नका लागि अर्काकै पसलमा काम गरौँ त भन्यो भने पनि बैंक खाता खोज्छन् अब कसरी बाँच्नु ।’ नेपालमै जन्मेको प्रमाण भए पनि नागरिकताविहीन भएर बाँच्दाको पीडा ठूलो रहेको उनले सुनाए ।
मलिना र सागरको मात्रै होइन धेरै युवाहरू नागरिकताविहीन छन् । यस्तै नागरिकताविहीन युवाहरूले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि रिले अनशन शुरु गरेका छन् । रिले अनशन शुरु गर्दै उनीहरूले नागरिकता विधेयकलाई राजनीतिक मुद्दा बनाउन नहुने बताएका छन् ।