अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा) को आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली आज शनिवार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछ ।
अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
चौथो वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए ।
प्रवक्ता अवालेका अनुसार प्रतियोगितामा १०४ भन्दा बढी राष्ट्रका करीब ६०० खेलाडीको सहभागिता रहनेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य सचिव घनश्याम पौडेल र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले शुक्रवार आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।