१५ असार २०८३, सोमबार

जनताले कामका लागि भनसुन गर्न नेता कहाँ धाउनुपर्ने गलत प्रणालीको अन्त्य हुनुपर्छ : अध्यक्ष तिमिल्सना

बैशाख १६, २०८०
जनताले कामका लागि भनसुन गर्न नेता कहाँ धाउनुपर्ने गलत प्रणालीको अन्त्य हुनुपर्छ : अध्यक्ष तिमिल्सना
फाइल फोटो

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकांक्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताएका छन् ।

उनले संघीय लोकतान्त्रि गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो चरणका सबै निर्वाचन सम्पन्न भएर ३ तहमै नयाँ सरकार आइसकेको अवस्थामा रोजगारीका लागि विदेशिनुपर्ने र जनताले आफ्नो कामका लागि भनसुन गर्न नेता कहाँ धाउनुपर्ने गलत प्रणालीका अन्त्य जनताको मुख्य चाहना रहेको बताए ।

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो केन्द्रीय महाधिवेशनको शनिवार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रष्ट्राचार, जनताको मतको दुरुपयोग र सिद्धान्त बेचेर कुर्सीका लागि हानथाप गर्नेजस्ता कुराको अन्त्य हुनुपर्ने बताए ।

‘हाम्रा अग्रजहरू देशका लागि बलिदानी दिएर मर्न तयार भए, अब मर्न होइन, देशका लागि केही गर्न तयार हुनुपर्‍यो,’ उनले भने, ‘आफ्ना लागि होइन, देशका लागि गर्न तयार हुनुपर्‍यो, तपाईंहरूजस्ता कलाकारले संगीतका माध्यमबाट सचेत गराउनुर्‍यो ।’

उनले भाषा, कला र संस्कृति हाम्रा पहिचान रहेको बताउँदै यति धेरै भाषाभाषी र कला, संस्कृति कहीँ पनि नभएको र यो हाम्रो पहिचान भएको बताए । यस्ता कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै अगाडि बढाउने कुरामा ध्यान दिनु जरुरी रहेको उनले उल्लेख गरे ।
 
अध्यक्ष तिमिल्सिनाले आधुनिकतासँगै यस्तो मौलिक कला, संस्कृति हराउँदै जाने हुन् कि भन्ने चिन्ता लिनु जरुरी रहेको र यसको संरक्षण र प्रवद्र्धनमा राज्यका ३ वटै तहका सरकारको ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘बाटो, पुल, स्कूल, कलेजजस्ता विकासका पूर्वाधार बनाउँदा यसका साथसाथै कला, संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ ।’
 
अध्यक्ष तिमिल्सिनाले कलाकारितालाई रोजगारीसँग जोड्न आवश्यक रहेको औंल्याए । ‘गीत/संगीतमा लाग्ने यहीँ क्षेत्र पेशाबाट आत्मनिर्भर हुने गरी जोडिनुपर्छ,’ उनले भने, ‘बल्ल कलाकार र कलाकारिता टिक्छ ।’

अध्यक्ष तिमिल्सनाले कला, संस्कृति हाम्रा पहिचान, पुँजीको रूपमा रहेको बताए । उनले यस्ता सम्पत्तिलाई अन्य भाषामा समेत अनुवाद गरेर विश्वव्यापी प्रचार गर्नुपर्ने बताए । उनले यसलाई कसरी आयआर्जनसँग जोड्ने, कसरी जीवन निर्वाहका रूपमा अगाडि बढाउने भन्नेमा ध्यान जानुपर्ने बताए । उनले कला संस्कृतिलाई आयआर्जन र जीवन निर्वाहसँग जोड्न सके नयाँ पिँढीको यस्ता कार्यक्रममा सहभागिता बढ्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्