
काठमाडौं उपत्यकामा शनिवार अपराह्नपछि मध्यम वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ ।
शनिवार पोखरामा २३ दशमलव २ मिलीमिटर, ताप्लेजुङमा २२ र लुम्लेमा १९ मिलीमिटर वर्षा भएको छ । महाशाखाका अनुसार ५० मिलीमिटर मध्यम र ५० मिलीमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।
महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ । देशका केही स्थानमा शनिवार वर्षा भएको छ भने काठमाडौं उपत्यका, पोखरा ताप्लेजुङ लगायत क्षेत्रमा धेरै वर्षा भएको छ ।
काठमाडौंमा भारी वर्षासँगै सिंहदरबार वरिपरि न्यूप्लाजा, पुतलीसडक, जमल लगायत क्षेत्रको सडक जलमग्न भएका छन् । निरन्तरको वर्षाले सवारी आवागमनमा समेत केही व्यावधान भयो भने गन्तव्यमा पुग्ने सर्वसाधरणले सास्ती व्यहोर्नुपरेको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले उल्लेख गरेको छ । मौसमविद् नगरकोटीका अनुसार अझै ३ दिन वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको छ । रातिको समयमा दिउँसोको भन्दा सिस्टम कमजोर हुने भएकाले वर्षा कम हुन्छ । आइतवार र सोमवार पनि वर्षाको सम्भावना छ ।
प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन/चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ ।
भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भूभागका १–२ स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।