
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताएका छन् । अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्ट पारे ।
“देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यसमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौँ”, अध्यक्ष ओलीले भने।
नेकपा (एमाले) पाँचथरले आज फिदिममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अर्थमन्त्रीले ‘कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा त पुगेका छैनौँ’ भन्नु सामान्य कुरा नरहेको बताए । “अर्थमन्त्रीले नै यसो भनेपछि अरु विकास निर्माणका कुरा त छाडिदिनुपर्ने स्थिति आएको बुझ्न सकिन्छ”, ओलीले भने, “ओरालो लागेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने हाम्रो मुख्य चिन्ता रहेको छ ।”
कानुन कार्यान्वयन प्रभावकारी नहुँदा देशको राजनीति अस्थिरता, अराजकता र कानुनविहीनतातर्फ गएको टिप्पणी गर्दै अध्यक्ष ओलीले सामाजिक मूल्य मान्यता कमजोर भएको बताए । भत्कन लागेका मूल्य, मान्यतालाई पुनःस्थापित गर्न एमाले कार्यकर्ताले अनुशासित, सङ्गठित र व्यवस्थितरूपमा पार्टी पङ्क्तिलाई सक्रिय गराउनुपर्नेमा उनले जोड दिए ।