
काठमाडौं प्रहरी परिसरले उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलाई नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा बुधवार पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री भएको समयमा उनी गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । उनी २०७८ साउनदेखि २०७९ असोजसम्म गृह सचिवको जिम्मेवारीमा थिए ।
अहिले नक्कली शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरू गरेको हो । प्रहरीले मंगलवार बादलका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पनि मंगलवार पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूले ‘ठूला माछाहरू’को नाम ‘पोले’पछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्न थालिएको छ ।
इन्द्रजित पक्राउ परेपछि त्यो समयमा गृह मन्त्रालयसँग जोडिएका र भुटानी शरणार्थीसँग जोडिएका पहुँचवालाहरूको भागाभाग भएको छ । जिल्ला अदालत काठमाडौंले राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनीहरूले ५ करोड रुपैयाँ लिएको आरोप पक्राउ परेका दलालहरूले लगाएको प्रहरीले जनाएको छ ।
हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलले ‘ठूला माछाहरू’को नाम पोलेका थिए । उनीहरूले दिएको बयानका आधारमा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दिपविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।
काठमाडौंमा उनीविरुद्ध पक्राउ पुर्जीको समाचार आइरहेको समयमा सांसद् समेत रहेका रायमाझी अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँगैको कार्यक्रममा सहभागी थिए । उनले बुधवार साँझ काठमाडौं आउने तयारी गरेको स्रोतले लोकान्तरलाई बतायो ।
प्रहरी स्रोतका अनुसार रायमाझीलाई काठमाडौं आउने वित्तिकै सभामुखलाई जानकारी दिएर पक्राउ गर्ने तयारी गरिएको छ ।
बादलका छोरा निगरानीमा
२०७८ चैतमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको भन्दै केशव दुलाल लगायतका व्यक्तिहरूलाई पक्राउ परेसँगै पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक प्रहरीलाई छल्दै हिँडिरहेका छन् ।
जिल्ला अदालत काठमाडौंले बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । पक्राउ पुर्जी जारी भएपछि उनी उच्च निगरानीमा छन् भने जतिसुकै बेला पनि पक्राउ पर्न सक्ने प्रहरी स्रोत बताउँछ । प्रहरी स्रोतले त प्रतीlक विदेश पुगिसकेको समेत दाबी गरेको छ ।
तर, पूर्वगृहमन्त्री थापाको परिवारले भने प्रतीक स्वदेशमै रहेको बतायो । ‘अहिलेसम्म प्रहरीबाट खोजी भएको छैन, अनुसन्धानका लागि बोलाएमा म प्रहरीकोमा जान्छु,’ प्रतिकको भनाइ उद्धृत गर्दै पारिवारिक स्रोतले लोकान्तरसँग भन्यो । पूर्वगृहमन्त्रीका छोरा प्रतिकले शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको पनि दावी गरेका छन् ।
भक्तपुरको रिसोर्टमा लुकेर बसेका थिए सचिव पाण्डे
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरी स्रोतका अनुसार उनी आफूविरुद्ध पक्राउ पुर्जी जारी हुने सुइँको पाएपछि घरबाट भागेर भक्तपुरमा रहेको एउटा रिसोर्टमा लुकेर बसेका थिए । प्रहरीले परिवारका सदस्यको सहयोगमा उनलाई पक्राउ गरेको स्रोतले लोकान्तरलाई बतायो ।
जिल्ला अदालत काठमाडौंले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
निलो कोट र सेतो सर्टमा हिरासतको बास
प्रहरीले पक्राउ गरेर ल्याउँदा सचिव पाण्डे निलो कोटमा सेतो सर्ट लगाएर उपस्थित भएका थिए । उनलाई काठमाडौं प्रहरी परिसरले अदालतबाट म्याद थप गरेर प्रहरी कार्यालयमा ल्याउँदा उनको अनुहारमा चमक हराएको देखिन्थ्यो । उनलाई बुधवार राति सिंहदरबार वृत्तको हिरासतमा राखिने भएको छ, जुन हिरासतमा यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महरालाई राखिएको थियो ।
कसरी खुल्यो पोल ?
२०७८ सालको माघ–फागुनमा भुटानी शरणार्थी बनाएर पठाउने गिरोहको पैसा उठाउने नाइके मध्येका केशव दुलालले अपराध अनुसन्धान कार्यालयमा आफूहरू ठगिएको भन्दै उजुरी दिएका थिए । त्यो समयमा उनले नेपालका शक्तिशाली व्यक्तिहरूको नाम लिँदै दिएको उजुरीमा प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान थालेको थियो ।
तर पछि केशव लगायत केहीविरुद्ध उजुरी आएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अपराध अनुसन्धान कार्यालयले गत चैत १३ गते ३ जनालाई पक्राउ गर्यो । त्यो समयमा ८१ जना पीडितहरूबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको थियो । त्यो बेलामा ललितपुर महानगरपालिका–२३ का ५० वर्षीय सानु भण्डारी, मोरङको शनिश्वरे नगरपालिका–१० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ का ४५ बर्षीय टंककुमार गुरुङलाई सार्वजनिक गरिएको थियो ।
उनीहरूले १ जना व्यक्तिबाट १५–२० लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको अपराध अनुसन्धान कार्यालयले जनाएको थियो ।
लगत्तै चैत १६ गते थप ५० जनाबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको भन्दै मोरङको शनिश्वरे पथरी नगरपालिका–१० का ४४ वर्षीय सागर राईलाई पक्राउ गरिएको थियो ।
वैशाख ६ गते थप १० जना दाङ, मोरङ, कास्की लगायतका जिल्लाका पीडितहरूले थप ५ करोड १९ लाख ९८ हजार रुपैयाँ सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी, सागर राई लगायते ठगी गरेको भन्दै उजुरी दिएका थिए ।
भूलसुधार – यसअघि समाचारमा भूलवश असम्बन्धित व्यक्तिको नाम उल्लेख हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ । – सम्पादक