२१ असार २०८३, आइतबार
सरसर्ती २४ घण्टा

नवौँ पटकको विस्तारमा पनि मन्त्रिपरिषद् अपूर्ण, रास्वपा सरकारमा सहभागी होला ?

बैशाख २१, २०८०
नवौँ पटकको विस्तारमा पनि मन्त्रिपरिषद् अपूर्ण, रास्वपा सरकारमा सहभागी होला ?

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा नियुक्त भएका ३ जना मन्त्रीको शपथ ग्रहण बिहीबारका लागि तय भएको छ । बिहीवार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ गराउने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले बुधवार कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका थिए ।

यससँगै प्रधानमन्त्री प्रचण्डले नवौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । तर, अझै दुई मन्त्रालय रिक्त रहेको छ। वन तथा वातावरण मन्त्रालय र खानेपानी मन्त्रालय रिक्त रहेको हो । 
यहीबीचमा सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा सहभागी गराउनेबारे छलफल भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा रवि लामिछाने नेतृत्वको रास्वपालाई सरकारलाई सहभागी गराउनेबारे छलफल भएको हो । 

त्यसका लागि गठबन्धनमा मन्त्रालय हेरफेर गर्नुपरे पनि तयार रहनुपर्ने मत बलियो बनेको छ । यद्यपि रास्वपा सरकारमा सहभागी हुन राजी भएको खण्डमा उसलाई कुन मन्त्रालय दिने भन्नेबारे चाहिँ सहमति जु्ट्न सकेको छैन । 

रास्वपाले आफ्ना कुराहरु साझा न्युनतम कार्यक्रममा राखिए र पुरानै मन्त्रालय पाउने अवस्था बनेमा सरकारमा सहभागी हुनसक्ने जनाउ दिएको छ । 
त्यसका लागि रविले उपनिर्वाचनपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो कुरा राखिसकेका छन् । तर, सरकारमै रहेका केही मन्त्रीको अडान र गठबन्धनभित्र पनि फरक फरक मत रहेकाले अन्यौलता भने रहेको नेताहरुको भनाइ छ । विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट हालै गृह मन्त्रालयमा सरुवा भएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले रविलाई गृहमन्त्री दिन नहुने अडान लिएको नेताहरुको भनाइ छ । 

श्रेष्ठले रास्वपालाई सरकारमा सामेल गराउन कोसिस हुने तर पहिलेकै मन्त्रालय भने दिन नसकिने संकेत गर्दै आएका छन् । यो भनेको उनले गृह मन्त्रालय नछाड्ने अडान लिएका गठबन्धनका एक नेताले बताए । 

यस्तै रास्वपाले यसअघि पाएको शिक्षा, श्रम तथा रोजगार मन्त्रालय पनि सहजै पाउन सक्ने अवस्था नभएको बताइन्छ । एमालेले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्दै वर्तमान सरकार ढाल्ने पासो थापेको चर्चा राजनीतिक वृत्तमा भइरहँदा बालुवाटारमा पनि रास्वपाबारे छलफल भएको हो । 

नेताहरुका अनुसार बैठकले रास्वपासँग छलफलका लागि प्रधानमन्त्री प्रचण्डलाई जिम्मेवारी दिएको छ । कांग्रेस तथा नेता संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले छलफल गरिरहेको बताए ।  यो विषयलाई प्रधानमन्त्रीले नै नै सम्बोधन गरेर निष्कर्षमा र्पुयाउने उनको भनाइ छ ।

उपनिर्वाचनपछि रास्वपामा फेरि सरकारमा जाने या नजाने भन्नेबारे दुई धार छ । एक समूहले पार्टी सरकारमा नगएर जनतामा जानुपर्ने पक्षमा लबिङ गर्दै आएको छ भने अर्को समूहले सरकारमा गएर आफ्नो काम देखाउनुपर्ने बताउँदै आएको छ । 

यहीबीचमा वैशाख १८ मा बसेको रास्वपा केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुने–नहुनेबारे सामान्य छलफल भएको थियो । यसबारेमा  शुक्रवार थप छलफल गरेर आवश्यक निर्णय लिने तय भएको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए । 

‘पार्टी अहिले सरकारमा छैन । तर सरकारलाई समर्थन दिएर सत्तापक्षको बेन्चमा बसिरहेको छ  पार्टी कि सरकारमा जान्छ कि प्रतिपक्षमा बस्छ । सरकारमा जाने कि प्रतिपक्षमा बस्ने निर्णय गर्न शुक्रबार संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाइएको छ ।’
पुस ११ गते प्रचण्डको सरकारमा सहभागी भएको रास्वपा रविको नागरिकता विवादमा सर्वोच्चले सांसद पद खारेज गरिदिएसँगै सरकारबाट बाहिरिएको थियो ।
००००
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेलमा संलग्न रहेको आरोपमा प्रहरीले रायमाझीका छोरा सन्दीपलाई रुपन्देहीको बुटवलबाट पक्राउ गरेको हो ।

बुधबार नै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक र पूर्वमन्त्री टोपबहादुर रायमाझीको नाममा पनि पक्राउ पुर्जी जारी गरेको छ । 
००००
सरकारले बजेट तयारीको मुखैमा अर्थसचिव सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्जुन पोखरेललाई अर्थसचिवमा सरुवा गरेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले गरेको निर्णय समेत कार्यान्वयन नगरेको र जिम्मेवारी बहन गरेको व्यक्तिबाटै गैरजिम्मेवारी काम भएको भन्दै हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई ३ दिने स्पष्टीकरण सोधेको छ ।
००००
नेपालका परिचित पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणका आरोपी दुई जनालाई पक्राउ पुर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराएसँगै पक्राउ पुर्जी जारी गरिएको हो । 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जाहेरी दिइएका नामका व्यक्तिका लागि पक्राउ पुर्जी जारी गरिसकिएको छ ।
००००
भीभीआईपी र भीआईपीले राज्यकोषबाट उपचार खर्च पाउने कानून नै खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ताद्वय राधिका चम्लागाइँ र स्वागत नेपालले कानून नै खारेज गर्नुपर्ने मागसहित रिट दर्ता गराएका छन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९१ को उपधारा (१) बमोजिम वैशाख २४ गते आइतबार दिउँसो ४ बजे संसद् अधिवेशन आह्वान गरेका हुन् ।
००००
सरकारले एसीसी प्रिमियर कपको उपाधि वितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । 
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक नौ दशमलव  १८ अंकले घटेको छ । बुधवार नौ दशमलव १८ अंकले घटेर एक हजार आठ सय ५७ दशमलव  २३ अंकमा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्