
कोशी प्रदेश लेखिएको ‘ब्यानर’ नराखिएको भन्दै सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई स्पष्टीकरण सोधेको छ ।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले सदस्य सचिव वाग्लेलाई स्पष्टीकरण सोधेको हो ।
वैशाख १७ गते स्पष्टीकरण सोधेको मन्त्रालयले १९ गते बैंक खाता समेत रोक्का गरेको छ । प्रभू बैंकलाई पत्राचार गर्दै सामाजिक विकास मन्त्रालयले खाता रोक्का गरिदिन भनेको छ ।
वाग्लेलाई तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए ।
अहिले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार रहेको छ । सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी समेत एमालेका हुन् । वाग्लेलाई हटाउनका लागि मन्त्री राजभण्डारीले तयारी थालेको एमाले नेताहरू बताउँछन् । 