०६ असार २०८३, शनिबार

घरमै पानीको धारा आएपछि फेरियो दिनचर्या

बैशाख २३, २०८०
घरमै पानीको धारा आएपछि फेरियो दिनचर्या
प्रतिकात्मक तस्वीर

बिहानै उठेर पानीका मुहान धाउनुपर्ने बाध्यता झेल्दै आएका गाउँलेको घरमै पानीको धारा आएपछि दिनचर्या फेरिएको छ ।

लामो समय काँध र पिठ्युमा पानी बोकेर जोहो गर्दै आएका स्याङ्जाको चापाकोट–१ वीरडाँडा, मैदान, पल्लीगाउँ र रिपका गाउँलेले झेल्दै आएको समस्या हटेको छ । 

जब घरघरमै एक घर एक धारा अभियानअन्तर्गत खानेपानी आइपुग्यो तब यहाँका गाउँलेको दिनचर्या फेरिएको छ । बिहानै उठेर कुवामा पानी भर्न जाने स्थानीय जूना सिञ्जालीजस्तै धेरै महिला दिदीबहिनी, दाजुभाइले एक गाग्री पानीका लागि लामो समय तथा परिश्रम गर्नुपर्ने बाध्यता रहेको थियो ।

‘खानेपानीकै ठूलो समस्या थियो, वस्तुभाउ र सिँचाइका लागि त कुरै छाडौं,’ सिञ्जालीले भनिन्, ‘अहिले गाउँका सबै घरमा खानेपानीको धारामार्फत निरन्तर पानी आउँछ, धेरै राहत भएको छ ।’ गाउँमा खानेपानी समस्या भएपछि करीब ६ वर्षअघिदेखि योजनाको काम थालिएको वीरडाँडा–मैदान खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन रानाले बताए ।

वीरडाँडा, मैदान, पल्ली गाउँ र रिपका गरी ६५ घरधुरीमा एक घर एक धारा निर्माण गरी खानेपानी वितरण गरिएको अध्यक्ष रानाले बताए । मूलदेखि ११७ मिटर ‘भर्टिकल’ उचाइमा विद्युत्मार्फत पानी तानेर पल्ली गाउँ तथा वीरडाँडामा निर्माण गरिएका ट्यांकीबाट घरघरमा पानी पुर्‍याइएको हो ।

‘गाउँमा भएका कुँवाबाट पानी खानुपथ्र्यो, सफा हुँदैनथ्यो, त्यही पनि फागुनदेखि जेठसम्म पानी पुग्थेन,’ अध्यक्ष रानाले भने, ‘मान्छेलाई खना समेत पानी कहिले पाइन्थ्यो कहिले पाइन्नथ्यो, राति धेरै नसुतेरै पानीको जोहो गर्न जानुपथ्र्यो ।’

पशु चौपायालाई खोलामा लगेर पानी खुवाउनुपर्ने बाध्यता थियो । घरघरमै मिटर जडान गरेर २४ घन्टै पानी वितरण गरिएको छ । न्यूनतम युनिटसम्म १०० प्रतिघर उठाउने र न्यूनतमभन्दा माथि पानी प्रयोग गर्नेलाई प्रतियुनिट १० रुपैयाँका दरले थप गर्दै लगिने अध्यक्ष रानाले बताए । 

गण्डकी प्रदेश सरकारको ९१ लाख २० हजार, स्थानीय जनश्रमदान १० लाख १० हजार गरी कूल १ करोड १ लाख ३० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्