१४ असार २०८३, आइतबार

प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

बैशाख २३, २०८०
प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बोलाएका छन् ।

आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी सत्ता गठबन्धनमा आबद्ध दलको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए । 

बैठकमा कांग्रेस, माओवादी, जसपा, नेकपा एस, नाउपा लोसपासहितका दल सहभागी हुने बताइएको छ । 

‘नीति कार्यक्रम, बजेट र समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बोलाउनुभएको छ’ तिमल्सिनाले लोकान्तरसँग भने । 

सत्ता  गठबन्धनलाई समर्थन गर्दै आएको रास्वपाले शुक्रबारमात्रै समर्थन फिर्ता लिएको परिस्थितिबारे पनि छलफल हुने बुझिएको छ । 

पछिल्लो समय नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी गिरोहमा उच्च राजनीतिक नेतृत्व र कर्मचारी जोडिएको विषयले राजनीतिक माहोल गर्माएको छ । 

एमाले सचिव टाेपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार छ ।


शनिवार मात्रै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसँग दुई घण्टा लामो छलफल गरेका थिए । उनले बिहीवार पनि प्रधानमन्त्रीसँग भेट गर्दै राजनीतिक प्रतिशोध साँधेर पक्राउ गर्न खोजिएको भन्दै आपत्ति जनाएका थिए । 

ओलीले शनिवार पनि यो प्रकरणमा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन् । तर प्रधानमन्त्रीले आफू कसैसँग नझुक्ने भन्दै कानूनसम्मत अगाडि बढ्ने प्रष्ट्याएका छन् । ​

शनिवारनै प्रचण्डले एक कार्यक्रममा बोल्दै शरणार्थी प्रकरण टे«लर मात्रै भएको भन्दै वास्तविक फिल्म आउनै बाँकी रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्