
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सङ्घीय संसद्को बजेट अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरे बमोजिम अधिवेशन अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ ।
प्रतिनिधिसभा बैठकको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा बढेर सुनाउने तालिका छ ।
त्यसैगरी बैठकमा सभामुखले आफ्नो अनुउपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनय गर्ने तालिका छ । त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गर्ने कार्यतालिका छ ।
बैठकको अन्तिममा अर्थमन्त्री डा प्रकाशशरण महतले, ‘आर्थिक वर्ष २०८०र८१ को लागि विनियोजित विधेयकका विभिन्न सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट रोकिएको नागरिकता विधेयक नयाँ राष्ट्रपतिबाट प्रमाणीकरण गराउन परामर्श थालेको छ । गठबन्धनले उक्त विधेयकबारे शनिबार वरिष्ठ कानुनविद्हरुसँग छलफल गरेको हो ।
नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नागरिकता विधेयक रोक्नुपर्ने अवस्था नरहेको सुझाव गठबन्धन र सरकारलाई दिएको बैठकपछि जानकारी दिए ।
००००
यसैबीच सत्ता गठबन्धनको शनिबार बसेको बैठकमा संघीय संसदको बैठक र त्यसमा प्रस्तुत हुने विषयलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ ।
साथै प्रधानमन्त्रीले विश्वासको मत लिएका बेला गरेका वाचा र प्राथमिकतालाई अघि बढाउनेबारे पनि छलफल भएको जानकारी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । ‘विश्वासको मत लिने बेला विभिन्न विधेयकलाई प्रधानमन्त्रीले प्राथमिकता दिनुभएको थियो । प्राथमिकताको विषयमा शिक्षा ऐन, निजामती विधेयकसहितका थिए’ पाण्डेले भने, ‘सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलेको छ । यसबारे कसरी अगाडि बढ्ने भन्नेबारे पनि छलफल भयो ।’
००००
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने आवश्यकता नभएको जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच दुई घण्टासम्म वार्ता चलेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व जोडिएपछिको सरगर्मीका बीच प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीच शनिबरा छलफल भएको हो ।
बिहीवार वार्ता गरेका ओलीले शुक्रवार फेरि छलफल हुन नसकेपछि शनिवार प्रधानमन्त्रीसँग लामो छलफल गरेका हुन् । ओलीले प्रधानमन्त्रीसँग समय मागे पनि उनी काठमाडौं बाहिर जानुपर्ने भएपछि फेरि शनिवार दुई नेताबीच लामो कुराकानी भएको हो ।
००००
प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन कानुनसम्मत् ढंगले अगाडि बढ्ने बताएका छन् । तीन दिनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दोस्रो पटक भेटेपछि प्रचण्डले शरणार्थी प्रकरणको छानबिन प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताएका हुन् । यस्तै ओलीले शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव दोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताए ।
००००
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।
शनिबार आयोजित कार्यक्रममा सो पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष महराले सो प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले भने, “नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुने विषयमा कुनै पनि खालको भेदभाव हुनु हुँदैन, सरकारले सबैलाई कारबाही गर्नुपर्छ ।”
००००
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिएका छन् ।
खाणले शनिवार विज्ञप्ति जारी गर्दै आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै आएका समाचारले अन्यौल सिर्जना गरेको बताएका हुन् ।
००००
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सरकारले सक्दो प्रयत्न गर्ने बताएका छन् ।
शनिवार बिहान काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका मन्त्री श्रेष्ठले आश्रमको निरन्तरता र अझ उचाइमा र्पुयाउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका हुन् ।
००००
पछिल्लो २४ घन्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन् ।
००००
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड करण केसी र सावित्रा भण्डारीले जितेका छन् ।
पोखरा सभागृहमा सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केसी र महिलातर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही एक÷एक थान टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारेका हुन् ।
००००
गोरखाको मनास्लु क्षेत्रमा पदायात्रका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ ।
गत वैशाख १८ गते मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो ।
००००
हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिए ।