
ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यदेखि सांसद पद समेतबाट कारवाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
ढाकाकुमारको रिटमाथि सोमवार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रास्वपाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो । साथै अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ भने विपक्षीका नाममा कारण देखाऊ आदेश पनि जारी भएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारवाही गरेको थियो । कारवाहीसम्बन्धी रास्वपाको पत्र संसदमा समेत पेश भएकाले उनको पद रिक्त भइसकेको थियो ।
कारवाहीविरुद्ध ढाकाले रास्वपा पार्टी र पार्टीअन्तर्गतको अनुशासन कमिटीलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए ।
अल्पकालीन अन्तरिम आदेशसँगै सुनुवाइको अर्को मितिसम्म उनको पद थमौती भएको छ ।
साथै रास्वपाको सिफारिशबमोजिम नयाँ सांसद नियुक्त गर्ने प्रक्रिया समेत अवरुद्ध हुन पुगेको छ ।
