जेठ ११, २०८०
झण्डै एक महिनादेखि देशको ध्यान खिचिरहेको नक्कली शरणार्थी प्रकरणको पहिलो अध्यायस्वरूप ३० जनाविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्...
काठमाडाैं | बैशाख २६, २०८०
टर्की (टुर्किये) मा आगामी साता (मे १४) राष्ट्रपति निर्वाचन हुन गइरहेको छ ।
विगत २० वर्षदेखि टर्कीमा शासन चलाइरहेका राष्ट्रपति रेचेप तैयिप एर्दोआनलाई यसपालि निकै कठिनाइको सामना गर्नु परिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्रीहरूमा उल्लेख गरिएको छ । एर्दोआनको जस्टिस यान्ड डिभलोपमेन्ट (अदालत वे कलकिन्मा–एके) दलले सत्तामा लामो समयदेखि हालीमुहाली गरिरहेकोमा विपक्षी गठबन्धनले उसको सत्ता खोस्न सक्ने आकलन गरिएका छन् ।
सन् २००२ देखि प्रधानमन्त्री बनेका एर्दोआनले संविधान संशोधन गराएर सन् २०१४ देखि राष्ट्रपति बनेर टर्कीमा शासन चलाइरहेका छन् । यति लामो समयदेखि सत्तामा रहँदा एर्दोआनले निरंकुश चरित्र देखाएको भनेर आलोचना पनि गरिएको छ ।
हुन त टर्की अहिलेको अवस्थामा संसारको १९औं ठूलो अर्थतन्त्र हो र उसको कुल गार्हस्थ्य उत्पादन लगभग ९०६ अर्ब डलर छ । शायद एउटै दलको नेतृत्वमा लामो समयसम्म शासन चलेकाले देशमा स्थिरता कायम भई टर्कीलाई आर्थिक प्रगति गर्न सहज भएको हुन सक्छ । तर एर्दोआनको पछिल्लो कार्यकालमा टर्कीको अर्थतन्त्रमा नराम्रो धक्का लागेको छ ।
द फाइनान्सियल टाइम्सका एन्ड्रु इंग्ल्यान्ड र एडम सामसनको सामग्रीमा उल्लेख भएअनुसार, टर्कीमा अहिले आम्दानीभन्दा खर्च बढी भएको (करेन्ट अकाउन्ट डेफिसिट) अवस्था छ । अनि देशमा विदेशी मुद्रा सञ्चिति पनि निकै कम छ ।
अर्थतन्त्रमा आएको संकटका कारण एर्दोआनको लोकप्रियतामा कमी आइरहेको छ । त्यसमाथि उनले देशमा महंगी बढ्दा समेत ब्याजदर नबढाउने वित्तीय नीति अपनाएकाले अर्थतन्त्र उकासिन समस्या परिरहेको छ । मर्निङ कन्सल्ट डट्कमका अनुसार, मूल्यवृद्धि अहिले पनि ५० प्रतिशतभन्दा बढी छ भने टर्किश मुद्रा लिराको मूल्य पोहोर जुलाईयता १३ प्रतिशतले घटेको छ ।
त्यसमाथि गत फेब्रुअरी महिनामा गएको विनाशकारी भूकम्पका कारण ५० हजारभन्दा बढी मानिसले ज्यान गुमाउँदा एर्दोआन सरकारले समुचित व्यवस्थापन गर्न नसकेको भन्दै सर्वसाधारण आक्रोशित छन् । विपतपछिको पुनर्निर्माणका लागि ३५ अर्ब डलर खर्च लाग्ने आकलन गरिएको छ र त्यो पैसा कहाँबाट जुटाउने भन्ने कुनै स्पष्ट कार्ययोजना सरकारले नबनाएको आरोप छ ।
जनताको आक्रोशबाट ध्यान मोड्न एर्दोआनले निर्वाचन अभियानमा कट्टरपन्थी कुरा गर्न थालेको बताइन्छ । गत साता चुनावी सभालाई सम्बोधन गर्ने क्रममा एर्दोआनले विपक्षीहरू पश्चिमको उदारवादी एजेन्डाको पछि लाग्दै टर्किश परम्परालाई भत्काउन उद्यत रहेको भनेर आलोचना गरेका थिए । विशेषगरी विपक्षीहरूले तेस्रो लिंगी र महिलाको अधिकारको विषय उठाएर पश्चिमको एजेन्डा लाद्न खोजेको उनको आरोप छ ।
आफूलाई समर्थन गर्ने इस्लामिक कट्टरपन्थीहरूको मत एकढिक्का रहोस् भनी उनले यस्तो कुरा गरेको बताइन्छ । सारांशमा भन्नुपर्दा आफ्नो सरकारको आर्थिक असफलतालाई ढाकछोप गर्न उनी सांस्कृतिक मूल्यमान्यतालाई हतियार बनाउन खोज्दैछन् ।
तर फ्रान्स२४ मा प्रकाशित शोना भट्टाचार्य र लुडोभिच दे फुकोको सामग्रीमा उल्लेख गरिएअनुसार, एर्दोआनलाई समर्थन गर्दै आएका कन्जर्भेटिभ महिला मतदाताहरू समेत उनीसँग विरक्त हुन थालेका छन् । महिलालाई टाउको छोप्ने वस्त्र हेडस्कार्फ लगाउन नपर्ने निर्णय लिएर लोकप्रियता हासिल गरेका एर्दोआनले सन् २०२१ मा महिलाविरुद्धको हिंसासम्बन्धी इस्तानबुल महासन्धिबाट टर्कीलाई हटाए ।
अनि उनले आफ्नो दलीय गठबन्धनमा दुईवटा चरम कट्टरपन्थी दलहरूलाई समावेश गरेका छन् । ती दलहरूले महिलालाई घरेलु हिंसाबाट संरक्षण गर्ने कानून खारेज गराउनका लागि पैरवी गरिरहेका छन् । यस्तो स्थितिमा महिला मतदातालाई एर्दोआनप्रति वितृष्णा जाग्नु स्वाभाविक हो ।
एर्दोआनप्रति जनताको आक्रोश रहेको बेलामा विपक्षी उम्मेदवारहरू उत्साहित भइरहेका छन् । उनलाई सबभन्दा ठूलो चुनौती कमाल किलिचदारोग्लुले दिइरहेका छन् । ठूलो विपक्षी गठबन्धनका उम्मेदवार कमाललाई धेरैजसो निर्वाचन सर्वेक्षणले एर्दोआनभन्दा अघि रहेको देखाइरहेका छन् र त्यसले एर्दोआन पक्षलाई तनाव दिइरहेको बताइन्छ ।
अन्य दुई उम्मेदवार मुहर्रम इन्से र सिनान ओगान पनि प्रतिस्पर्धामा छन् । तर उनीहरूको समर्थन सूचकांक २ देखि ६ प्रतिशत मात्र रहेकाले उनीहरू चुनौती दिन सक्ने स्थितिमा छैनन् । उनीहरूले काटेको भोटका कारण निर्वाचन दोस्रो चरणमा जाने सम्भावना चाहिँ छ ।
कमाल नेतृत्वको विपक्षी गठबन्धनले मतदातालाई लोभ्याउनका लागि विभिन्न किसिमका प्रतिबद्धता गरिरहेको छ । अर्थतन्त्र उकास्ने, राजनीतिक प्रणालीलाई लोकतान्त्रीकरण गर्ने, राजनीति र धर्मलाई अलग्याउने अनि पश्चिमसँग टर्कीको सम्बन्ध सुधार गर्ने उनीहरूको भनाइ छ ।
तर समस्या के भने गठबन्धनका प्रत्येक दलको वैचारिक अडान फरक–फरक छ । यस्तो स्थितिमा एर्दोआन पराजित भएछन् भने पनि गठबन्धनले सहज रूपमा शासन गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न पनि छ ।
खासमा मतदाताहरूलाई अरू कुराको भन्दा पनि आर्थिक पुनरुत्थानको चिन्ता बढी छ । विगत दुई दशकमा पहिलोपटक चरम आर्थिक संकट बेहोरिरहेको टर्कीलाई पुनः सामान्य स्थितिमा फर्काउने चुनौती नयाँ सरकारले बेहोर्नुपर्छ । एर्दोआनका समर्थकहरू यस चुनौतीको सफल सामना आफ्ना नेताले मात्र गर्न सक्ने तर्क गर्छन् ।
अनि टर्कीको राजनीतिक प्रणाली, धर्मनिरपेक्षता र वैदेशिक सम्बन्धका विषयहरू पनि आफैंमा जटिल छन् । एर्दोआनले लामो समयसम्म सत्तामा पकड राख्दा यी विषयलाई आफूअनुकूल सञ्चालन गर्ने गरेका थिए । तिनमा क्रान्तिकारी परिवर्तन ल्याउन सहज छैन ।
टर्की युरोप र एसियाको बीचमा भूरणनीतिक महत्त्वको स्थानमा रहेकाले आउँदो राष्ट्रपति निर्वाचनको भूराजनीतिक सान्दर्भिकता पनि छ । छिमेकी मुलुक सिरियामा अनि अफ्रिकी मुलुक लिबियामा टर्कीको सैन्य संलग्नता रहेकाले एर्दोआनले गैरपश्चिमी शक्ति चीन र रुससँग सुमधुर सम्बन्ध राखिरहेका छन् । विशेषगरी रुस ती दुई देशमा सैन्य शक्तिका रूपमा उदाएकाले रुससँग सुसम्बन्ध कायम नभएमा टर्कीलाई अप्ठ्यारो पर्ने स्थिति छ ।
उता चीनले चाहिँ टर्कीमा व्यापक रूपमा लगानी गरी भूआर्थिक प्रभाव पारिरहेको छ । अनि टर्कीको छिमेकमा रहेको पश्चिम एसियामा चीनले कूटनीतिक सफलता (इरान–साउदी अरब सम्बन्ध सुधार) हासिल गरिरहँदा चीनसँग पनि सुसम्बन्ध कायम गर्नु हितकारी हुने निष्कर्ष टर्किश सरकारले निकालेको छ ।
टर्कीमा पश्चिमको प्रभाव चाहिँ दिनदिनै घटिरहेको छ । अमेरिका र युरोपेली संघले टर्कीमा पश्चिमी शैलीको लोकतन्त्रमा जोड दिइरहेको भए पनि एर्दोआनले त्यसलाई प्रतिकार गर्दै आइरहेका छन् ।
अझ उनले त मानवअधिकार सन्धिहरूको अवज्ञा गर्दै पश्चिमविरोधी कदमहरू चाल्न थालेका छन् । तर पश्चिमी सैन्य गठबन्धन नेटोको सदस्य रहेको टर्कीलाई अतिरिक्त दबाब दिन नसकिने भएकाले पश्चिमाहरू केही गर्न सकिरहेका छैनन् ।
उता विपक्षी दलहरूले चाहिँ पश्चिमसँग सुमधुर सम्बन्ध बनाउनुपर्ने भनाइ राखिरहेका छन् । आर्थिक संकटको नकारात्मक असर घटाउन अनि पश्चिमसँग राजनीतिक तथा कानूनी अनुकूलन गर्दै लाभ लिन अग्रसर हुनुपर्ने उनीहरूको धारणा छ । त्यसैले गर्दा पनि शायद सबैजसो पश्चिमी सञ्चारमाध्यमहरूमा कमाल किलिचदारोग्लुलाई बढी स्पेस दिइएको छ ।
त्यसो भन्दै कमालले रुस र चीनसँग सम्बन्ध बिगार्न खोजेका छन् भन्ने अर्थ लगाउन मिल्दैन । उनले पश्चिम र गैरपश्चिम दुवैसँग सन्तुलन मिलाउनुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।
तर टर्कीले मतदाताहरूले के सोचिरहेका छन् भन्ने कुराको भेउ पाउन गाह्रो भएकाले निर्वाचन परिणामको भविष्यवाणी गर्न नसकिने स्थिति छ । हाबरटुर्क अन्लाइन पत्रिकाका मुहर्रम सारिकायाका अनुसार, यस निर्वाचनमा मौन मतदाताहरू निर्णायक रहनेछन् । दलका क्याडरभन्दा भिन्न सर्वसाधारणका रूपमा उनीहरूले कुनै दलप्रतिको बफादारी देखिने क्रियाकलाप नगरेकाले कसलाई भोट दिन्छन् भन्ने खुलेको छैन ।
लामो समयसम्म एर्दोआनले टर्कीमा शासन गरेकाले उनको विकल्प आवश्यक रहेको सोच मतदातामा आएको हुन सक्छ । तर एर्दोआनको एके दलले दिएको जस्तो स्थिरता विपक्षी गठबन्धनबाट प्राप्त हुने सुनिश्चितता नरहेकाले एर्दोआनलाई नै मतदाताले पत्याउने पनि हुन सक्छ । जे भए पनि आगामी साता हुने निर्वाचनको परिणामले टर्कीको भविष्य निर्धारण गर्ने देखिन्छ ।
झण्डै एक महिनादेखि देशको ध्यान खिचिरहेको नक्कली शरणार्थी प्रकरणको पहिलो अध्यायस्वरूप ३० जनाविरुद्ध बुधवार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ (प्रधानमन्त्री) सँग १० पुसमा गरेको सत्ता समीकरणमा कांग्रेस मिसिन खोजेपछि चिढिँदै एमाले १५ फागुनमा सरकारबाट बाहिरियो । आफूविरुद्ध कांग्रेस...
रुसको निजी सैन्य समूह वाग्नरले पूर्वी युक्रेनको बाखमुत (आर्त्योमोव्स्क) शहरमाथि पूर्ण नियन्त्रण कायम गरेको भए पनि पश्चिमाहरू युक्रेनको प्रत्याक्रमण कारवाही सफल हुने दाबी गरिरहेका छन् । त्यसो त विगत केही महि...
अमेरिकाका अग्रणी कूटनीतिकर्मी हेनरी किसिन्जर शनिवार (२७ मे) मा १०० वर्ष पुगेका छन् । कूटनीति तथा अन्तर्राष्ट्रिय राजनीतिको क्षेत्रमा किसिन्जरलाई भीष्मपितामहका रूपमा लिइन्छ । दोस्रो विश्वयुद्धपछिको अमेरिकी ...
नक्कली शरणार्थी प्रकरणमा निकटस्थहरू नै मुछिएको आशंका उत्पन्न हुँदा अस्वाभाविक मौनता साँधेका कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतालाई पशुपतिको जलहरी प्रकरणले अर्को विवादमा तानेको छ । नेपालीलाई नक्कली ...
‘वर्तमान गठबन्धन देश सिध्याउने यात्रामा लाग्यो । (राजनीति) देश बनाउने र सिध्याउने दुई ध्रुवमा विभाजित भयो । अब देश बनाउने जिम्मा एमालेको काँधमा छ,’ दुई साताअघि वैशाख १४ गते इलाम पुग्दा एमाले ...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...